
नेकपाका प्रभावशाली नेता एवं प्रतिनिधि सभाका सांसदद्वय भीम रावल र नारायणकाजी श्रेष्ठले सांसदहरूलाई दशैं भत्ता दिइएकोमा विरोध गरेका छन् ।
सांसदहरूलाई चाडबाड भत्ता दिइएको समाचार शुक्रवार लोकान्तर डटकमले खुलासा गरेपछि सांसदलाई बाँडिएको दशैं भत्ताको चौतर्फी विरोध भइरहेको छ ।
नेकपा सांसदद्वय रावल र श्रेष्ठले आइतवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै महामारीको समयमा सांसदलाई भत्ता दिनु गलत रहेको बताएका हुन् ।
‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन् गरी कुनैपनि जनप्रतिनिधिले दशैँ भत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनु हुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ,’ रावलले लेखेका छन् ।
नेकपाका अर्का स्थायी कमिटी सदस्य शर्माले सांसदलाई दशैं भत्ता दिनुभन्दा भेन्टिलेटर किन्न प्रस्ताव गरेका छन् ।
‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं । दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहोरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकाले उहाँलाई हस्तान्तरण गर्दछु,’ शर्माले लेखेका छन् ।
यसैबीच साझा पार्टीकी बाग्मती प्रदेश सभा सदस्य शोभा शाक्यले पनि दशैं भत्ता फिर्ता गर्ने घोषणा गरेकी छिन् ।
उनले कोरोना महामारीमा कारण देश संकटा परिरहेको र ठूलो संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेको बेला जनप्रतिनिधिहरूले दशैं भत्ता लिनु उपयुक्त नहुने भन्दै आइतवार भत्ता फिर्ता गर्ने घोषणा गरेकी हुन् ।
एक विज्ञप्ति जारी गर्दै साझा पार्टीले यसबारे जानकारी दिएको छ । पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ , 'मासिक तलब स्वतः खातामा आउने गर्दछ। बागमती प्रदेश सरकारले तलब सँगसँगै दशैँ भत्ता पनि सांसदहरूको खातामा दाखिल गरिसकेको छ। मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु। दशैँ खर्च बापतको सो रकम कोभिड १९ को स्वास्थ्य कोषमा दाखिला गर्न समेत हार्दिक अनुरोध गर्दछु। साथसाथै, सबै सांसदहरूलाई दशैँ भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड १९ नियन्त्रण र उपचारमा लगाउन पनि आग्रह गर्दछु।'
यसैबीच बाग्लुङ २ बाट प्रत्यक्ष निर्वाचित नेकपाका प्रतिनिधि सभा सदस्य एवं नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि दशैं भत्ता फिर्ता गरेका छन् ।
उनले दशैं भत्ता बापतको रकम भुजीखोला बाढीपीडितलाई सहयोग गर्ने समेत घोषणा गरेका छन् ।
संघीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य एवं उनीहरूका पीएलाई चाडबाड भत्ता स्वरूप एक महिनाको पारिश्रमिक उपलब्ध गराएको थियो ।
गत वर्षको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा सांसदलाई महामारीको समयमा दशैं भत्ता बाँड्नुलाई सुशासनविद्हरूले आर्थिक अपराधको संज्ञा दिएका छन् ।
जनता सडकमा भोकभोकै भौँतारिएको समयमा सांसदलाई दशैं भत्ता बाँडिएको भन्दै सामाजिक सञ्जालका चर्को विरोध भएको छ ।
पढ्नुहोस्, यो पनि : EXCLUSIVE : जनता भोकभोकै सडकमा, कोरोनाकालमा सांसद र उनका पीएले बुझे दशैंभत्ता !