
कोरोना भाइरस संक्रमणको महामारी व्याप्त रहेका बेला सांसदहरूले दशैं भत्ता लिएको भनेर व्यापक आलोचना भएपछि ठूला दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले भत्ता फिर्ता गर्ने निर्णय गरेका छन् ।
सोमवार शुरूमा प्रतिपक्षी कांग्रेसले भत्ता सरकारी कोषमा नै फिर्ता गर्ने संस्थागत निर्णय गरेपछि सत्तारुढ दल नेकपाले पनि दशैं भत्ताबापत प्राप्त रकम फिर्ता गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सभाका नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले सबै सांसदको दशैं भत्ता कोभिड उपचार कोषमा जम्मा गर्ने निर्णय भएको लोकान्तरलाई जानकारी दिए ।
सांसदहरूले दशैं भत्ता बुझेकोबारे लोकान्तरडट्कममा पहिलोपटक गत असोज ३० गते शुक्रवार समाचार प्रकाशित भएपछि केही सांसदले व्यक्तिगत रूपमा भत्ता फिर्ताको घोषणा गरेका थिए । अहिले आएर पार्टीले नै संस्थागत रूपमा भत्ता फिर्ता गर्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेसले दशैं भत्ताबापत आफ्ना सांसदको खातामा आएको ४३ लाख २० हजार ८१० रुपैयाँ कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलका मुख्य सचेकत बालकृष्ण खाणले सोमवार एक विज्ञप्ति प्रकाशित गरी दशैं भत्ता कोरोना उपचार कोषमा राख्ने निर्णय भएको जानकारी गराएका छन् ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा आमनेपाली जनता रोग, भोक र अभाव, पीडा र कठिनाइ व्यहोरिरहेको समयमा जनप्रतिनिधिलाई दशैं भत्ता बाँड्ने निर्णय समय सान्दर्भिक र उचित नभएकाले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले भत्ता फिर्ता गर्ने निर्णय गरेको खाणले विज्ञप्तिमा जनाएका छन् ।
संसद्को तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले पनि दशैं भत्ता फिर्ताका लागि छलफल शुरू गरेको छ । सो दलको केन्द्रीय कार्यकारिणी बैठक चलिरहेको छ । सो बैठकबाटै भत्ता फिर्ताको निर्णय हुने एक सांसदले बताएका छन् ।