
कोभिड–१९ ले चीनका अतिधनाढ्यहरूलाई थप पैसा कमाउन रोकेको छैन ।
शेयरको मूल्य बढ्दा अनि नयाँ स्टक सूचीहरूका कारण उनीहरू सबैको सम्पत्ति जोड्दा चार खर्ब डलर पुगेको छ जुन जर्मनीको अर्थतन्त्रभन्दा बढी हो ।
हुरुन चाइना रिच लिस्टको २२ वर्षे इतिहासमा यस वर्ष सबभन्दा बढी सम्पत्तिमा वृद्धि देखिएको अनुसन्धाता रुपर्ट हूगवर्फले बताए । उक्त सूचीमा चीनका सबभन्दा धनी व्यक्तिहरूलाई राखिएको छ । उनीहरूको सम्पत्ति लगभग ३ अर्ब डलर छ ।
‘
स्टक बजारहरूमा राम्रो कारोबार भइरहेको छ र नयाँ लिस्टिङहरूका कारण चीनमा एक हप्तामा पाँच नयाँ डलर अर्बपतिहरू बढिरहेका छन् । जम्मा एक वर्षमा यति धेरै सम्पत्ति सिर्जना भएको संसारमा कहिले पनि भएको थिएन,’ हूगवर्फले मंगलवार एक बयान जारी गरेर बताए ।
चीनका धनाढ्यहरूको सूचीमा अलीबाबा कम्पनीका संस्थापक ज्याक मा लगातार तेस्रो वर्ष पहिलो स्थानमा छन् । उनको कुल सम्पत्ति दोब्बर भएर ५८.८ अर्ब डलर पुगेको छ ।
अन्य दुई अर्बपति टेनसेन्टका सीईओ पोनी मा र बोतलको पानी बेच्ने झोङ शानशान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । पोनीको सम्पत्ति ५७.४ अर्ब डलर छ भने झोङको सम्पत्ति ५३ अर्ब डलर छ ।
महामारीका बेलामा धनीहरू थप धनी भइरहेको प्रवृत्ति चीनमा मात्र सीमित छैन । संसारका अतिधनाढ्यहरूले संकटका बेलामा निकै सम्पत्ति जोडे ।