
पूर्व प्रधानमन्त्री एवं जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णयले महामारी झन् विकराल बन्ने बताएका छन् ।
उनले अस्पतालमा धनीले दिन चाहे दानपात्र राख्ने तर सबैलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।
‘कोरोना पीडितको निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो । यसले महामारी झन् विकराल बन्नेछ, यो पैसाको अभावले हैन, जनताको ज्यान जोगाउन अरू सबै खर्च रोके हुन्छ । भ्रष्टाचार र फजुल खर्च रोके पुग्छ । अस्पतालमा धनीले दिन चाहे दानपात्र राखौं । तर सबैलाई निःशुल्क गरौं,’ भट्टराईले बुधवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेका छन् ।
कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय फिर्ता गर्न नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले सरकारसँग आग्रह गरेका छन् ।