०१ साउन २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

देशभरबाट सीआईबीले माग्यो नसुल्झिएका ‘केस’, गणेश नेपाली मृत्यु प्रकरणमा ९ बुँदे सहमति

असार २९, २०८३
काठमाडौं
देशभरबाट सीआईबीले माग्यो नसुल्झिएका ‘केस’, गणेश नेपाली मृत्यु प्रकरणमा ९ बुँदे सहमति

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार बुढानिलकण्ठस्थित लामिछाने निवासमा भेटवार्ता भएको छ।

 करिब चार घण्टा भएको भेटमा सुकुम्बासी व्यवस्थापन, गणेश नेपालीको आत्मदाह प्रकरण, सरकारको कामकारबाही तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ । 

प्रधानमन्त्री शाह प्रमुख स्वकीय सचिव कुमार बेन तथा सचिवालयका सदस्य सुवास शर्मा र विवेक मिश्रसमेत लिएर लामिछाने निवास पुगेका थिए।

भेटका क्रममा सभापति लामिछानेले सुकुम्बासी व्यवस्थापनलाई संवेदनशील रूपमा अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनले वास्तविक अवस्था पहिचान गर्दै प्रभावित नागरिकलाई राज्यले न्यायोचित र चित्त बुझ्ने समाधान दिनुपर्ने धारणा राखेका थिए।

जवाफमा प्रधानमन्त्री शाहले सरकारले सुकुम्बासी व्यवस्थापनका लागि आवश्यक काम गरिरहेको र समस्या समाधानतर्फ प्रक्रिया अघि बढिरहेको बताएको स्रोतको भनाइ छ । साथसाथै दुई नेताबीच आत्मदाह प्रकरणका साथसाथै पछिल्लो समसामियक विषयमा पनि छलफल भएको बताइएको छ ।
००००
क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। प्रहरीले चौधरीले प्रतिव्यक्ति ४ लाखदेखि १७ लाख रुपैयाँसम्म उठाएर विदेश नपठाएको जनाएको छ।
००००
आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति भएको छ ।

सहमतिअनुसार नेपालीको आत्मदाह प्रकरणमा जोडिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गरिने भएको छ ।

घटना भएको दिन अग्रभागमा खटिएका महानगर प्रहरीलाई छानबिन आयोगको प्रतिवेदन र सिफारिसका आधारमा अन्तिम निर्णय हुने गरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई पत्राचार गरिने छ ।
००००
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर तीन बालबालिकाको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका ७ स्थित पुरानो चोकमा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेश पालले जानकारी दिए ।
००००
गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकन गरेका छन् ।
मन्त्री गुरुङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव त्यहाँ पुगेका हुन् ।
००००
मेडिकल कलेज सञ्चालकसमेत रहेका नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई दशैंसम्म सरकार टिकाएर देखाउन चुनौती दिएका छन् । एल्गोरिदमले पनि बालेनलाई साथ दिन छाडेको उनको दाबी छ ।

आइतबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी प्रसाईंले सरकारको कार्यशैलीका कारण यो सरकार धेरै नटिक्ने दाबी गरेका हुन् ।

यसअघि विमानस्थलमा पत्रकार सम्मेलन गर्न लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर उनको भक्तपुरस्थित निवासमा पुर्याकएर छाडेको थियो ।
००००
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ७७ वटै जिल्ला प्रहरी कार्यालयले सुल्झाउन नसकेका गम्भीर प्रकृतिका अपराध अनुसन्धानको मिसिल मागेको छ ।

काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र उपत्यकाबाहिरको हकमा ७ वटै प्रदेश प्रहरी कार्यालयलाई परिपत्र गर्दै मिसिल मागिएको हो ।

त्यसो त ठूला घटना सुल्झन नसकेपछि सम्बन्धित प्रदेश प्रहरी कार्यालयले सीआईबी आवश्यक ठानेको अवस्थामा केन्द्रबाटै सीआईबीको टोली परिचालित हुँदै आएको छ । कतिपय घटनाहरूको अनुसन्धान सफल पनि भएका छन् ।

सीआईबीको नेतृत्वमा एआईजी उमाप्रसाद चतुर्वेदी पुगेपछि उनले उक्त परिपत्र गरेका हुन् । चर्चित र केही रहस्यकै गर्भमा रहेका घटनाहरू अहिले पनि अनुसन्धानमै छन् ।

खासगरी कञ्चनपुर भीमदत्तकी निर्मला पन्तको बलात्कारपछि हत्या कसले गर्योर भन्ने तथ्य अहिलेसम्म पत्ता लागेको छैन ।
००००
मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ ।

मधेश प्रदेशसभाको आइतबारको बैठकमा सभामुख रामअशिष यादवले सोही दिनदेखि कार्य प्रारम्भ गर्ने गरी प्रदेशसभा सदस्यहरू उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी तरुन्म र सरिताकुमारी ठाकुर रहने गरी कार्यदल गठन गरिएको जानकारी दिएका हुन् ।
००००
कलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। सुटिङकै क्रममा ब्रेन ट्युमर भएको पत्ता लागेपछि उनको अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको कलाकार दीपकराज गिरीले जानकारी दिए ।

हाल निरौलालाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ ।
००००
एशियाली विकास बैंक (एडीबी)ले नेपालसहित दक्षिण एसियाका अधिकांश देशको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ ।
एडीबीले हालै सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) जुलाई २०२६ अनुसार नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान, आर्मेनिया र टर्कीको वृद्धिदरको अनुमान ऊर्जा मूल्य वृद्धिको निरन्तर प्रभावका कारण प्रक्षेपण घटाइएको हो ।

एडीबीले विकासशील एशिया–प्रशान्त क्षेत्रको समग्र आर्थिक वृद्धिदर सन् २०२६ मा ४.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ, जुन सन् २०२५ को ५.५ प्रतिशतभन्दा कम हो । यो अप्रिलमा गरिएको अनुमानभन्दा पनि ०.२ प्रतिशत बिन्दुले कम हो ।
००००
स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदी ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४७५ रुपैयाँ कायम भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्