
कोरोना भाइरसको कारण एकाएक रोकिएको बलिउड पुरानै लयमा फर्किन थालेको छ ।
केही दिनअघि सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधे’को छायांकन सकियो । अक्षयकुमार सुटिङकै लागि केही हप्ताअघि टीम बोकेर लण्डन गए ।
कोरोनाको कारण दैनिक सयौं मानिसको ज्यान गइरहेको छ । संक्रमितको संख्या दैनिक ५०–६० हजार पुगिरहेको अवस्था छ । यद्यपि ६ महिनाभन्दा धेरै समय कुनै पनि गतिविधि नभएको बलिउडमा चलचित्र निर्माणका कामहरू शुरू भएका छन् ।
चलचित्र प्रदर्शनका लागि सरकारले हल खुला गरिदिएको छ ।
हालै अर्को विग बजेटमा निर्माण थालिएको चलचित्र ‘सत्यमेव जयते २’को छायांकन शुरू भएको छ । नायक जोन अव्राहिम र नायिका दिव्या खोस्ला कुमारको मुख्य भूमिका रहने चलचित्रका लागि लखनउमा क्यामेरा अन गरियो ।
चलचित्रलाई मिलन जाभेरीले निर्देशन गर्दैछन् । पहिलो दिन जोन र दिव्याको केही दृश्य खिचिएको निर्देशक जाभेरीले बताए ।
उत्तर प्रदेश सरकारले छायांकनका लागि सबै सुरक्षाको प्रबन्ध गरिदिएको चलचित्र निर्माण पक्षको भनाई छ । चलचित्रलाई भुषण कुमारले निर्माण गर्न लागेका हुन् ।
चलचित्र सन् २०२१ मे १२ बाट संसारभरका थियटरमा प्रदर्शन गर्ने निर्माण पक्षको योजना छ ।