११ साउन २०८३, सोमबार

निरंकुश शासकहरूप्रति डोनल्ड ट्रम्प किन यति आसक्त ?

कात्तिक ५, २०७७
निरंकुश शासकहरूप्रति डोनल्ड ट्रम्प किन यति आसक्त ?

किम जोङ उनसँग उनी प्रेममा परे, भ्लादिमिर पुटिनलाई उनी प्रशंसा गर्छन् र रेचेप तैयिप एर्दोआनलाई उनी साथी भन्छन् । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले निरंकुश शासकहरूको अग्घोर प्रशंसा गर्दा साझेदारहरू छक्क परेका छन् र लोकतान्त्रिक मूल्यमान्यताप्रति ट्रम्पको आस्थामा प्रश्न उठाउने गरेका छन् । 

तर ट्रम्पको कार्यकाल सकिएपछि अमेरिकाका परम्परागत मित्रताहरू पुनःस्थापित हुने अपेक्षा विश्लेषकहरूले गरेका छन् । ट्रम्पले निरंकुश शक्तिप्रति मोह देखाएको भए पनि त्यो व्यक्तिगत कुरा भएको र परराष्ट्रनीतिमा आधिकारिक परिवर्तन नआएको उनीहरूको भनाइ छ । 

‘उनी कमजोरीसँग अति नै डराउँछन्,’ मिशिगनमा रहेको ओकल्यान्ड विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक पिटर ट्रम्बोर बताउँछन् ।

अमेरिकालाई फेरि महान् बनाउने प्रतिज्ञाका साथ चुनाव जित्नुअघि नै ट्रम्पले सत्ताको शक्तिप्रतिको आकर्षण व्यक्त गर्ने गरेका थिए । 

सन् १९९० मा प्लेबोय पत्रिकालाई अन्तर्वार्ता दिँदै ट्रम्पले शीतयुद्ध अन्त्य गर्न योगदान गर्ने सोभियत नेता मिखाइल गोर्भाचोभ लोकतन्त्रसमर्थक प्रदर्शनकारीमाथि कठोर नबनेको भनेका थिए । 

त्यसको तीन दशकपछि उनी निरंकुश शासकहरूलाई प्रशंसा गर्छन् भने लोकतान्त्रिक साझेदार क्यानडा र जर्मनीको आलोचना गर्छन् । 

आफूलाई निरंकुश शासकहरू मन पर्ने भनी उनले पत्रकार बब वूडवर्डसँगको अन्तर्वार्तामा बताए । उनीहरू जति कठोर र छुच्चा हुन्छन्, आफूलाई उनीहरूसँग घुलमिल हुन त्यति सजिलो लाग्ने उनको कथन छ । 

सन् २०१७ मा उनले किम जोङ उनलाई चेतावनी दिँदै अमेरिकालाई फुच्चे रकेट पुरुषले जोखिममा पारेमा आगो बर्साउने भनेका थिए । तर त्यसको दुई वर्षपछि उनले उत्तर कोरियाको ऐतिहासिक भ्रमण गरे । 

ट्रम्पले किमसँग वार्ता गरेकोलाई प्रशंसा गरिएको भए पनि किमले आफ्नो देशका लागि महान् र सुन्दर भिजन बनाएको भनी ट्रम्पले गरेको टिप्पणीलाई धेरैले गिल्ला गरे । 

चीनका सम्बन्धमा पनि उनको सन्देश परिवर्तन भइरहने गरेको छ । उनले व्यापार र कोभिड–१९ को संक्रमणका विषयमा चीनप्रति कठोर दृष्टिकोण अपनाउने गरेका छन् तर चीनका राष्ट्रपति सी चिनफिङका लागि चिनियाँ कम्युनिस्ट पार्टीले कार्यकालको सीमा हटाइदिएको कुराको प्रशंसा गरे । 

‘उनी जिन्दगीभरिका लागि राष्ट्रपति भए । यो गजब हो,’ ट्रम्पले भने । 

केही मानिसले उनको यो टिप्पणी मजाकमा गरिएको भने पनि उनले टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनप्रति व्यक्ति गरेको न्यानोपनसँग यो ठ्याक मिल्छ । आफ्ना शक्तिहरू क्रमशः बढाउँदै लगेका एर्दोआनलाई ट्रम्पले साथी भन्ने गरेका छन् । 

तर रुसका राष्ट्रपति पुटिनसँगको उनको सम्बन्धले सबभन्दा बढी ध्यान खिच्ने गरेको छ । अझ सन् २०१६ को निर्वाचनमा ट्रम्पलाई फाइदा पुग्ने गरी मस्कोले हस्तक्षेप गरेको दाबी छ यद्यपि रुसले यसलाई अस्वीकार गर्ने गरेको छ । 

सन् २०१८ मा पुटिनसँगको एक शिखर सम्मेलनमा ट्रम्प पूर्व गुप्तचर पुटिनप्रति नतमस्तक भएको पाइयो । त्यतिखेर उनले चुनावमा हस्तक्षेपको आरोपमा एफबीआई भन्दा पुटिनको कुरा पत्याउने बताए अनि पुटिन एकदमै बलियो भएको बताए । 

‘उनी एर्दोआन वा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान जस्ता लोकतान्त्रिक विधिले छानिएका राष्ट्रपतिहरूले लोकतान्त्रिक संस्थालाई उपयोग गरेर मुलुकलाई नरम निरंकुश शासन बनाएको देख्छन् । ट्रम्पलाई अमेरिकामा त्यसै गर्न मन छ ।’
 

जर्जटाउन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक चार्ल्स कुपचानले निरंकुश शासकहरूप्रति ट्रम्पको सहृदयतालाई ईर्ष्याको भावसँग जोडेर हेरेका छन् । अनि उनलाई कठोर पुरुषत्वप्रति पनि लगाव छ । 

पुटिनले छाती देखाएर घोडामा चढेको र वास्तविक पुरुष जस्तो देखिएको उनी मन पराउँछन्,’ कुपचानले बताए । 

ट्रम्पले लामो समयदेखिका शत्रुहरूसँग सम्बन्ध विकसित गरेर अमेरिकालाई थप सुरक्षित बनाएको भनी उनको सरकारले तर्क गर्ने गरेको छ । 

तर उनको यो दृष्टिकोणले परिणाम देखाउन बाँकी रहेको विश्लेषकहरू बताउँछन् । 

पेरिसमा इन्स्टिच्युट फर स्ट्राटेजिक रिसर्चमा अमेरिकी विज्ञका रूपमा रहेका मउड केसार्ड ट्रम्पले आफ्ना मतदाताहरूलाई आफू बलियो छु भनी सन्देश दिन खोजेको बताउँछन् । 

आफूलाई असाधारण सम्झौताकारी भनी प्रस्तुत गर्ने ट्रम्पसँग कूटनीतिक सफलताका लागि आवश्यक धैर्यको कमी रहेको कुपचानको भनाइ छ । 

‘कुनै पनि तयारी नगरिकन दुई नेता बसेको भरमा कूटनीतिक ब्रेकथ्रू आउँदैनन् । कठोर मेहनत र तयारीपछि त्यस्ता ब्रेकथ्रू आउने हुन् ।’

‘उत्तर कोरियाका सन्दर्भमा त्यस्तो केही देखिएन । त्यसैले त्यो निष्फल भयो ।’

युरोपसँग अमेरिकाको सम्बन्ध चिसिँदै गयो । ट्रम्पले युरोपेली संघ परित्याग गर्ने बेलायतको निर्णयलाई स्वागत गरे अनि उक्त संघ अमेरिकाबाट फाइदा लिनका लागि मात्र बनाइएको दाबी गरे । 

दक्षिण अफ्रिकामा रहेका पूर्व अमेरिकी कूटनीतिकर्मी ब्रूक्स स्पेक्टरले ट्रम्पको दोस्रो कार्यकालले अन्तर्राष्ट्रिय मञ्चमा थप अन्योल ल्याउने बताएका छन् । 

‘अमेरिकी नीतिका लक्ष्यहरू के हुन् ? अपेक्षा के हुन् ? इरान र रुसबाट अनि चीनसँगको व्यापार युद्धबाट अमेरिकाले वास्तविकतामा के अपेक्षा गरेको हो ?’

‘अमेरिकाले ठ्याक्कै के चाहेको हो भन्ने विषयमा अन्य मुलुकहरू रनभुल्ल परेका छन् । मानिसहरू रणनीति वा योजना खोजिरहेका छन् तर सजिलै भेटिरहेका छैनन् ।’

एएफपीमा प्रकाशित विश्लेषण 
 

salt training

कमेन्ट गर्नुहोस्