१० असार २०८३, बुधबार

‘दशैंको टीकामा एक रुपैयाँ दक्षिणा पाउँदा रोएको क्षण कहिल्यै बिर्सिन्नँ’

कात्तिक ५, २०७७
‘दशैंको टीकामा एक रुपैयाँ दक्षिणा पाउँदा रोएको क्षण कहिल्यै बिर्सिन्नँ’

यो पटकको दशैं कसरी मनाउँदै हुनुहुन्छ ?

परिवारसँग काठमाडौंमा घरमै बस्ने । टीका लगाउने । अरूको घरमा नजाने ।

यो पटक दशैंमा मिस भएको कुरा के हो ?

आफन्तको घरमा टीका लगाउन जाने कुरा र साथीभाइसँगको भेटघाट । शायद यी कुरा नै मुख्य छुटेका कुराहरू हुन् ।

जिन्दगीको सबैभन्दा सम्झनलायक दशैं कुन होला ?

दशैं सधैँ उत्साह बोकेर आउँछ । धुमधाम मनाइन्छ । तर, यसपटकको दशैं होला जुन अब सधैँ सम्झनलायक हुनेवाला छ, किनभने, यसपटकको दशैंमा धेरैको हातबाट टिका लगाउन पाइने छैन । साथीभाइहरूसँग भेटघाट पनि खासै हुनेवाला छैन । असाध्यै खल्लो होला योपटक दशैं ।

दशैंको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो ?

आफूभन्दा ठूलाको आशीर्वाद लिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । यो बाहेक वर्षमा एकपटक टाढा रहेका आफन्त र साथीभाइहरूसँग भेटघाट हुनु पनि महत्त्वपूर्ण कुरा होला ।

दशैंमा सपिङ गर्ने बानी कत्तिको छ ?

पहिले थियो । पहिलेजस्तो पछिल्लो समय दशैंमा सपिङ गर्दाको आनन्द खासै छैन । तर, यसपटकको दशैंमा मैले सपिङ गर्ने योजना बनाएको छैन । पुरानै पहिरनमा दशैं मनाउँदैछु ।

दशैंको राम्रो–नराम्रो पक्ष के–के हो ?

राम्रो कुरा सबैजना जम्मा हुँदा पारिवारिक वातावरण झन गाढा हुन्छ । यसको नकारात्मक पक्ष भनेको के हो भने, हुने खानेलाई दशैं हो, नहुनेलाई दशा हुन्छ ।

दशैं मनाउने तरिका परिवर्तन हुँदै गएको जस्तो लाग्छ ?

हो त्यस्तै लाग्छ । अहिले दशैंको नाममा पार्टी, जमघट, पिउने काम अलिकति बढी भएको हो कि । साँच्चैभन्दा दशैंको रौनक पहिलाजस्तो छैन, साह्रै भड्किलो हुँदै गएको छ ।

दशैंका बेला खानपानमा खासै ध्यान दिएको पाइँदैन नि ? किन होला ?

स्वास्थ्यभन्दा ठूलो केही छैन, त्यसैले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्रै रमाइलो गर्नुपर्छ । स्वास्थ्यको वास्ता नराखेर खानपान गर्दाको परिणाम आफैँले भोग्नुपर्छ ।

सानो छँदाको दशैं सम्झना कत्तिको याद गर्नुभएको छ ?

सानो छँदा दशैंमा नयाँ लुगा किन्ने र त्यो पहिरनमा चिटिक्क परेर मामा घर जाने, साथीभाइहरू भेट्न जाने गरिन्थ्यो । रमाइलो कुरा त के हो भने मेरो घरमा म र मेरो दाइ (सीताराम कट्टेल)लाई एउटै कपडा सिलाइदिनुहुन्थ्यो । शायद सानो छँदा हामीले सधैँजसो एउटै कपडा लगाइन्थ्यो । तर, ठूलो भइयो, त्यसपछि एउटै पहिरनमा कहिल्यै हामी भेटिएका छैनौं ।

दशैंका बेला सधैँ सम्झनामा आउने एउटा याद के हो ?

मामाघरको हजुरआमासँग बच्चा हुँदाको समयमा पैसा पाइन्छ भन्ने आशमा झण्डै एक दिन म एक्लै हिँडेर टीका लगाउन गएको थिएँ । मामाघर त्योभन्दा अघि जाँदा धेरै पैसा पाइन्थ्यो । तर, एक पटकको दशैंमा ठूलो आशा बोकेर एक दिन लगाएर दशैंको टीका लगाउन गएँ । तर एक रुपैयाँ दिनुभयो हजुरआमाले । त्यसपछि म निकै रोएँ । यो क्षण मैले कहिल्यै बिर्सन्नँ ।

salt training

कमेन्ट गर्नुहोस्