
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोनाका कारण मृत्यु भएको छ । प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला कर्मचारीको आज उपचारका क्रममा मृत्यु भएको हो । उनलाई उच्च रक्तचापको पनि समस्या थियो ।
यसैबीच बुटवलको कोरोना विशेष अस्पतालमा थप एक सङ्क्रमितको आज मृत्यु भएको छ । कञ्चन गाउँपालिका–३ की ४८ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
कात्तिक ४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलामा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको थियो ।
यसैगरी नवलपरासीमा कोरोना सङ्क्रमणबाट नेपाली काङ्ग्रेस रामग्राम नगरपालिका कार्य समितिका सभापतिको मृत्यु भएको छ । उनमा यही कात्तिक ४ गते नेशनल प्याथ ल्याब बुटवलमा गरिएको परीक्षणको क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।