
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ । सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भइन् । समारोहमा नेपाली सेनाको टुकडीले उनलाई सलामी अर्पण गरेको थियो ।
सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गरियो भने तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरियो । बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो ।
समारोहमा सैनिक ब्याण्डले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ बोलको राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गरिएको थियो ।
कोभिड–१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएको हो ।
बढाइँ हेर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए ।