
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पोखरामा थप ३ जना मानिसको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले आइतबार बिहान जारी गरेको विज्ञप्तिअनुसार पोखराका विभिन्न ३ अस्पतालमा गरी ३ जनाको मृत्यु भएको हो । मृत्यु हुने कोरोना संक्रमित सबै पुरुष हुन् ।
पोखरा २२ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान साढे ९ बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
कोभिड–१९ सहित निमोनियाको समस्या रहेका उनमा असोज ६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई त्यसको भोलिपल्ट असोज ७ मा अस्पताल भर्ना गरिएको थियो ।
यस्तै, पोखरा ३२ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको पनि कोभिड–१९ का कारण मृत्यु भएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शनिबार दिउँसो साढे ४ बजे मृत्यु भएको हो । अघिल्लो दिन कोरोना पुष्टि भएका उनमा निमोनिया, उच्च रक्तचाप, मधुमेह रोग समेत रहेकोमा आइसीयूमा राखेर उपचार हुँदै आएको थियो ।
उता, चरक मेमोरियल अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा–१ का ४२ वर्षीय कोरोना संक्रति पुरुषको शुक्रबार राति पौने ८ बजे मृत्यु भएको जानकारी २ दिनपछि मात्र सार्वजनिक गरिएको हो । उनमा निमोनिया समेत समस्या थियो । गत असोज ३ गत नै कोरोना संक्रमण पुष्टि भएकोमा उनको असोज ३० मा मात्र अस्पताल भर्ना गरिएको थियो ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ ।