चीनसँग तनाव बढ्दै जाँदा अमेरिकाले युद्धको अभ्यास तीव्र बनाएको छ ।
अमेरिकी लडाकू विमान, रणनीतिक आणविक बमवर्षक विमान, आणविक पनडुब्बी र विमानवाहक युद्धपोतले अभ्यास गरिरहेका छन् ।
यस युद्धाभ्यासलाई ग्लोबल थन्डर नाम दिइएको छ । यसमा अमेरिकासँग बेलायत र अस्ट्रेलियाको जलसेनाले पनि भाग लिइरहेका छन् ।
दक्षिण चीन सागर र हिन्द महासागरमा अमेरिका र चीनबीच तनाव चरममा छ ।
ग्लोबल थन्डर युद्धाभ्यास यूएस स्ट्राटेजिक कमान्डले आयोजना गरेको हो । यसक्रममा अमेरिकी सेनाले कुनै निश्चित लक्ष्यविरुद्ध आणविक आक्रमण गर्न र त्यसबाट बच्नका लागि तयारी गरिरहेको छ ।
युद्धाभ्यासमा आणविक आक्रमण गर्न सक्षम अमेरिकाका बी–५२ स्ट्राटेजिक बम्बर, बी–१बी बम्बर, बी–२ स्प्रिट स्टील्थ बम्बर्सले शक्ति प्रदर्शन गरिरहेका छन् ।
हालैका दिनमा अमेरिकाले बी–१बी विमानको फ्लीट चीन नजिक गुआममा राखिरहेको छ । नेब्रास्का, मिसौरी र लुइजियानामा समेत अमेरिकाले युद्धाभ्यास गरिरहेको छ ।
बी–१बी बम्बरलाई अमेरिकी कम्पनी बोइङले बनाएको हो । अमेरिकी जलसेना र वायुसेनाले यसका १०० युनिटलाई अपरेट गर्ने गरेका छन् । तिनीमध्ये केही एसिया र युरोपमा समेत तैनाथ छन् ।
यी बमवर्षक विमानहरूले एकपटकमा ३४ हजार किलोभन्दा बढी तौल बोक्ने गरेका छन् । सिरिया, लिबिया, अफगानिस्तान र इराक युद्धमा यिनीहरूको उपयोग गरिएको थियो ।
हिन्द महासागरमा रहेको डिएगो गार्सिया टापुमा अमेरिकाको महत्त्वपूर्ण रणनीतिक उपस्थिति छ । यस टापुबाट अमेरिकी सेनाले प्रशान्त महासागरमा चीन र उत्तर कोरियाको गतिविधिमा नजर राख्छ र नेभल ब्लकेजको स्थिति आएमा योगदान गर्न सक्छ ।
त्यहाँ ५ हजार अमेरिकी सैनिक तैनाथ छन् । त्यहाँ तैनाथ गरिएका अमेरिकी स्ट्राटेजिक बम्बर लगातार चीन वरपरका क्षेत्रमा उडिरहेका छन् ।