
यो पटकको दशैं कसरी मनाउँदै हुनुहुन्छ ?
विगतमा जस्तो रमझम नगर्ने । निकै सावधानी अपनाएर दशैं मनाउने योजनामा छु ।
यो पटक दशैंमा मिस भएको कुरा के हो ?
दशैंको अर्को महत्त्वपूर्ण कुरा भनेको भेटघाट पनि हो । यसपटक धेरै आफन्त, इष्टमित्र कसैसँग पनि भेटघाट हुने छैन ।
जिन्दगीको सबैभन्दा सम्झनलायक दशैं कुन होला ?
सानो हुँदा नयाँ कपडा लगाउने र साथीभाइलाई देखाउनुको मज्जा बेग्लै थियो ।
दशैंको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो ?
आफूभन्दा ठूलाको आशीर्वाद, जसले गर्दा हाम्रो पारिवारिक सामाजिक सम्बन्ध निकै राम्रो र बलियो छ ।
दशैंमा सपिङ गर्ने बानी कत्तिको छ ?
आवश्यक सपिङ लगभग भइसकेको छ । केही बाँकी पनि छ, किन्नुपर्ने । तर, सपिङ गर्ने माहोल खासै राम्रो नभएकाले थोरैमा चित्त बुझाउने योजना बनाएकी छु ।
दशैंको राम्रो–नराम्रो पक्ष के–के हो ?
दशैंका सबै राम्रा पक्ष छन् । तर, दशैं मनाउने नाममा देखासिकी गर्नु, रमाइलोको नाममा अनावश्यक रूपमा पेय पदार्थ जुवातास खेलेको मलाई चित्तै बुझ्दैन ।
दशैं मनाउने तरिका परिवर्तन हुँदै गएको जस्तो लाग्छ ?
पहिला हाम्रो परम्परा संस्कृतिलाई ध्यान दिइन्थ्यो, आजकल रमाइलो मोजमस्तीतिर आकर्षित हुँदै गएको पक्का हो । जुन मलाई र शायद धेरैलाई मन पर्दैन ।
दशैंका बेला खानपानमा खासै ध्यान दिइएको पाइँदैन नि ?
आफ्नो स्वास्थ्य महत्त्वपूर्ण कुरा हो । त्यसैले प्रत्येक वर्ष आउने दशैं राम्रोसँग मनाउनका लागि खानपानमा निकै ख्याल गर्नुपर्छ ।
सानो छँदाको दशैं सम्झना कत्तिको याद गर्नुभएको छ ?
मामाघर जाने । नयाँ लुगा लगाउने । खसी काट्ने । सबैको घरमा मालश्री पञ्चेबाजा बजाउँदै गाउँ घुम्ने कुराहरू निकै अविस्मरणीय कुरा हुन् ।
दशैंका बेला सधैँ सम्झनामा आउने एउटा याद के हो ?
टीका जमरा । निधारमा छपक्कै टीका र टन्न जमरा लगाएर दशैंमा मान्यजनबाट आशीर्वाद पाउनु भनेको निकै रमाइलो लाग्थ्यो । पहिले पनि । अहिले पनि ।