
उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईका वासिन्दाले अवैध रूपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गरेका छन् ।
शनिवार स्थानीय २३ वर्षीया विनिता थापाको सदरमुकाम गाइघाटस्थित टाईम्स पोलिल्किनिकमा उपचारका क्रममा मृत्यु भएको थियो ।
अवैध रुपमा सञ्चालित क्लिनिकका सञ्चालक डा. रामजीवन यादवले गलत औषधि दिँदा थापाको मृत्यु भएको उनका आफन्तको आरोप छ । सञ्चालक यादवलाई कारवाही गर्नुपर्ने तथा अवैध रुपमा सञ्चालित सो क्लिनिक बन्द गर्नुपर्ने माग गर्दै थापाका आफन्त आन्दोलनमा उत्रिएका छन् ।
क्लिनिक सञ्चालक यादवलाई कारवाही नगर्दासम्म शव नबुझ्ने उनीहरूले अडान लिएका छन् । शनिवार दिउँसो बिरामी भएपछि थापालाई उपचारका लागि यादवको क्लिनिकमा भर्ना गरिएको थियो । उपचारपछि पनि थापाको अवस्था झन जटिल बनेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको जिल्ला अस्पतालमा मृत्यु भएको बिरामीका आफन्त विक्रम थापाले बताए ।
अवैध रुपमा सञ्चालित क्लिनिकका सञ्चालक डा. यादवको लापरवाहीका कारण ती युवतीको मृत्यु भएको उनले आरोप लगाए । मृतक युवतीको शव जिल्ला अस्पतालमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले अवैध रुपमा सञ्चालित डा. यादवको क्लिनिकको विषयमा छानबिन थालिएको जानकारी दिए ।
क्लिनिकका सञ्चालक डा. यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । हाल क्लिनिक बन्द गराइएको छ ।