२९ जेठ २०८३, शुक्रबार

शुभ साइतमा टीका लगाएर मनाइयो दशैं, आज दिनभरी नै टीका लगाउन सकिने

कात्तिक १०, २०७७
शुभ साइतमा टीका लगाएर मनाइयो दशैं, आज दिनभरी नै टीका लगाउन सकिने

बडादशैंको मुख्य दिन विजया दशमी आज मान्यजनबाट नवदुर्गाको प्रसाद टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गरी मनाइँदैछ ।

पञ्चाङ्ग निर्णायक समितिले तोकेको उत्तम साइत १०:१९ मा अधिकांशले टीका-जमरा लगाएका छन् ।

यद्यपि विजयादशमी आफैंमा शुभ दिन भएकाले सोमवार टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

गौतमका अनुसार आज दिनभरि नै टीका लगाउन सकिन्छ ।​

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । 

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र  जमरा थापेर मनाइन्छ ।

‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभू, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ धर्मशास्त्रविद् प्रा.डा. गौतमले भने ।
 
टीका लगाउँदा ख्याल गर्नु आफू बसेको दिशा

सोमवार विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले सुनाए । 

सोमवारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेंलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरसको संक्रमण फैलिरहेकाले जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले सोमवार मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । 

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरू गरिएको धार्मिक विश्वास छ ।

आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरू शस्त्रपरित्याग दिवस मनाउँछन् । गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदूर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । 

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ –

आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे । 
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गादेवीको स्वरूप मानेर आशीर्वाद दिइन्छ ः– 

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी  ।
दूर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दूर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रक्रमणका कारण सुरक्षित हुनुपर्नेछ ।

मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन समितिले आह्वान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्