बलिउड अभिनेत्री कंगना रनावत र महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेबीचको शाब्दिक लडाइँ फेरि चलेको छ ।
लागूऔषधका विषयमा दुईजना भिडेका हुन् ।
आइतवार दशहरा भेलामा ठाकरेले कंगनाको पाकिस्तानअधीनस्थ कश्मीरवाला बयानको सन्दर्भमा भनेका थिए, ‘केही मानिस मुम्बईलाई लागूऔषधको केन्द्र भनेर बदनाम गर्ने कोशिश गरिरहेका छन् । गाँजाको खेत कहाँ हुन्छ भन्ने मानिसलाई थाहा छैन ।’ उनले कंगनाको गृहनगर हिमाचल प्रदेशलाई इंगित गर्न खोजेका थिए ।
यसको जवाफ फर्काउँदै कंगनाले ट्वीट गरिन्, ‘तपाईंलाई लाज लाग्नुपर्ने हो, मुख्यमन्त्रीजी । सार्वजनिक पदमा रहेर तपाईं यस्ता तुच्छ झगडामा पर्नुहुन्छ । कुर्सीमा बसेर फोहरी राजनीति गर्न तपाईंलाई सुहाउँदैन ।’
‘तपाईं जस्ता नेताले यस राज्यका बारेमा यस्तो प्रतिशोधपूर्ण, तुच्छ र बिरामी सोच राख्ने ? मनु ऋषि र पाण्डवले निर्वासनको लामो समय बिताएको ठाउँ हो यो ।’
उनले हिमाचलको महिमा वर्णन गर्दै उद्धव ठाकरेलाई थप आलोचना गर्दै अन्य ट्वीट लेखिन् ।
कंगना र उद्धवबीचको लडाइँ सुशान्त सिंह राजपूत केसका क्रममा भएको हो । त्यसक्रममा मुम्बई प्रहरीले सुशान्तको मृत्युमा राम्रो अनुसन्धान नगरेको भन्दै कंगनाले आलोचना गर्दै गर्दा एक बयानमा मुम्बईको तुलना पाकिस्तानअधीनस्थ कश्मीरसँग गरेकी थिइन् ।