फेसबूकमा पोस्ट गरिने मुस्लिमविरोधी सामग्रीहरूले अतिवाद र हिँसालाई प्रोत्साहन गरेको भन्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आपत्ति जनाएका छन् ।
उनले फेसबूकजस्ता सामाजिक सञ्जालमा पोस्ट हुने यस्ता सामग्रीहरू बन्द गर्नसमेत आग्रह गरे ।
प्रधानमन्त्री खानले फेसबूकका सीईओ मार्क जुकरबर्गलाई खुलापत्र लेख्दै भनेका छन्, ‘फेसबूकमा पोस्ट हुने मुस्लिमविरोधी सामग्रीका कारण हिँसा फैलिएको छ । यसलाई बन्द गर्न जरुरी छ ।’
उनले हिँसाका धेरै उदाहरणहरू दिएका छन् । तीमध्ये मुस्लिम धर्मका प्रवर्तक मोहम्मदको कार्टुन बनाएर फेसबूकमा हाल्ने कामले बढी हिँसा निम्त्याएको बताएका हुन् ।
उनले लेखेको खुलापत्र त्यतिबेला प्रकाशित भएको थियो जतिबेला फ्रान्सका इमानुअल म्याक्रोनले मुस्लिमलाई आतंककारीसँग तुलना गरेका थिए ।