०५ साउन २०८३, मंगलबार

विमान उडाउन चिरिच्याट्ट पारिँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

कात्तिक ११, २०७७
विमान उडाउन चिरिच्याट्ट पारिँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

लुम्बिनी प्रदेशको विकासको मूल ढोकाका रूपमा हेरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको भौतिक पूर्वाधार निर्माणको काम विभिन्न झन्झट र व्यवधानबीच करीब सकिएको छ । 

राष्ट्रिय गौरवको आयोजना विमानस्थल झण्डै ८ वर्षको अवधिमा भौतिक संरचना निर्माणले अन्तिम रूपमा पाएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा समेत गौतमबुद्ध विमानस्थललाई लिइएको छ । विमानस्थलमा लाइट (बत्ती) जडान र केही ठाउँको ‘फिनिसिङ’ गर्न मात्र बाँकी रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । 

विमानस्थल सन् २०१९ डिसेम्बर ३० तारिखमा सञ्चालनमा ल्याउने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बताए पनि कोरोनाको कारण विमानस्थल निर्माण रोकिएको थियो । अधिकारीले फिनिसिङ र लाइट जडान गर्ने प्राविधिक विदेशबाट ल्याउनुपर्ने हुँदा २ वटा काम लाइटिङ र फिनिसिङ मात्र बाँकी रहेको बताए ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण सकिएर रंगरोगनको काम भइरहेको छ भने प्रस्थान कक्षको भवन निर्माण सकिएर एसी जडान लगायतका काम भइरहेका छन् । एयरलाइन्सका लागि आवश्यक काउन्टर बनाउने, एसी जडान, वायरिङ लगायतका कामहरू सकिने क्रममा छन् । ३ हजार मिटर लामो धावनमार्ग, ट्याक्सी वे र जहाज पार्किङ गर्ने एप्रोनको काम सकिएको छ । 

विमानस्थल निर्माणले अन्तिम रूप पाउन लागे पनि सरकारले सञ्चालनको मिति र रुट परमिटको विषय टुंगो लगाउन सकेको छैन । सरकारले निर्माण कम्पनीका लागि ५ पटक समय थप गरेर सन् २०२१ डिसेम्बरसम्म म्याद थप गरेको छ ।

विमानस्थलको शिलान्यास २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले गरेका थिए । विमानस्थलले लुम्बिनी प्रदेशको विकासको ढोका खोल्ने आशा गरिएको छ । 

आयोजनाका अनुसार विमानस्थल २ चरणमा निर्माण भइरहेको छ । आईसीपी १ र आईसीपी  २ गरी विमानस्थलको काम भएको हो । आईसीपी १ अन्तर्गतका कामहरू सम्पन्न भइसकेका छन् भने आईसीपी २ अन्तर्गतका काम केही बाँकी छन् । १ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवन लगायत संरचना निर्माण सम्पन्न भइसकेका छन् ।
 
२ अन्तर्गत जहाज, पाइलट र विमानस्थलबीचको समन्वयको लागि प्रविधि निर्माण रहेको छ । जसका उपकरण जडानको काम र केही ल्याउनुपर्ने भएको हुँदा कोरोनाले गर्दा आउन पाएका छैनन् । चीनबाट आउनुपर्ने सामान केही दिनमै विमानस्थल परिसरमा आइपुग्नेछ भने केही नेपाल–चीनबीचको सिमानामा रहेका कारण सामानहरू आउने क्रममा छ । तिनै सामान जडान गर्ने दक्ष जनशक्ति भने आउने टुंगो लाग्न सकेको छैन । 

निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार २०७४ भित्रै निर्माण सम्पन्न नभएपछि आयोजनाले पटक–पटक गरी ५ पटक म्याद थप गरेको छ । विमानस्थल २०७२ सालको भूकम्प र मधेश आन्दोलनको अवरोध, नदीजन्य पदार्थको समस्याले विभिन्न अल्झन झेल्दै अहिले अन्तिम चरणमा आइपुगेको छ । विमानस्थल निर्माण कम्पनी नर्थ साउथ र स्थानीय ठेकेदार कम्पनीबीच आन्तरिक समस्याले पनि विमानस्थल निर्माणको काम प्रभावित पारेको थियो । पछिल्लो समय कोरोनाका कारण फेरि विमानस्थल निर्माणमा कठिनाइ आएको छ ।

विमानस्थल सम्झौता अनुसार समयमै काम सम्पन्न भएको भए र कोरोना महामारी नभएको भए यतिबेला १६ आन्तरिक र ६ वटा अन्तर्राष्ट्रिय विमानबाट रूपन्देहीमा दैनिक हजारौं पर्यटक झर्थे । चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले आयोजनाको निर्माण सम्झौता गरी काम शुरू गरेको थियो । 

विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण हुने भएको छ । दोस्रो टर्मिनल भवन हाल बनेको भवनको पश्चिम छेउ बन्ने जनाइएको छ । भवन बनाउने स्थानको माटो परीक्षणको काम समेत भएको जनाइएको छ । विमानस्थलको दोस्रो भवन बनाउने विषयमा सम्पूर्ण कामहरू मन्त्रालयबाट भइरहेको अधिकारीले बताए । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा शुरू भएको विमानस्थल निर्माण कार्य चिनिया“ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्सट्रक्सनले २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्नुपर्ने गरी सहमति भएको थियो । तर म्याद थप गर्दै सन् २०२१ सम्म पुगेको छ । नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैया“मा  सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्