
भारतको बिहार विधानसभाको कुल २४३ सीटमा चुनाव तीन चरणमा हुँदैछ र पहिलो चरणको मतदान बिहीवार हुँदैछ ।
त्यसमा कुल ७१ सीटका लागि मतदान हुनेछ ।
कोरोना महामारीका बावजूद चुनावमा भव्य प्रचारप्रसार गरिँदैछ । संक्रमणको डर उम्मेदवार र मतदाता दुवैमा छैन ।
संक्रमित मानिसहरूको संख्या बढिरहेको छ र मृत्यु पनि लगातार भइरहेका छन् । राज्य सरकारका दुई मन्त्रीहरूको पनि कोरोनाकै कारण मृत्यु भइसकेको छ । सुशील मोदी र मंगल पाण्डेय जस्ता शीर्ष नेताहरू पनि अस्पतालमा उपचार गराइरहेका छन् ।
चुनाव प्रचारको परिदृश्य हेर्दा सत्तारूढ भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धनले आरम्भमा राम्रो स्थितिमा रहेर पनि अहिले कडा चुनौतीको सामना गरिरहेको देखिन्छ ।
उता राष्ट्रिय जनता दल, कांग्रेस र वामपन्थी दलहरूको महागठबन्धनको स्थिति बलियो हुँदै गएको देखिन्छ ।
चुनावमा जातीय प्राथमिकताको राजनीति भन्दा पनि रोजगार जस्तो आधारभूत प्रश्न बढी जल्दोबल्दो देखिएको छ ।
बेरोजगारीको समस्या चुनावको ठूलो मुद्दा बनेको छ । यस एजेन्डालाई आरजेडीका तेजस्वी यादवले सेट गरेका छन् ।
आफ्नो सरकार बनेमा पहिलो क्याबिनेट बैठकमै दश लाख बेरोजगारहरूलाई स्थायी सरकारी जागिर दिइने उनले बताएका छन् । कसरी यत्तिका धेरै रोजगारी सिर्जना गर्ने हो भन्ने विषयमा पनि प्रश्न उठिरहेका छन् ।
बेरोजगार युवाहरूले तेजस्वीको कुरा पत्याएर चुनावी सभामा भडि बढाउने गरेका छन् । यसको असर भाजपामा पनि परेपछि १९ लाख मानिसहरूलाई विभिन्न क्षेत्रमा रोजगारी दिने आश्वासन दिनुपरेको छ ।
तर सरकारी जागिर र सामान्य रोजगारीको आश्वासनमा मानिसको ध्यान स्वभावतः सरकारी जागिरमै जान्छ ।
तेजस्वी यादवका सभाहरूमा उनका बुवा लालु यादवले बनाएको मुस्लिम–यादव समीकरणको भीडका साथै श्रमिकहरूको भीड पनि जुट्ने गरेको छ । लकडाउनका बेलामा अनेकौं हण्डर खाँदै घर फर्केका अनि बेरोजगार बनेका मानिसहरू पनि भेलामा जाने गरेका छन् ।
तर पिछडिएका र दलित समुदायका मानिसहरूको आकर्षण जेडीयू–बीजेपीतर्फ नै छ । उनीहरूलाई केन्द्र र बिहार सरकारबाट सहायताका रूपमा नगद र सित्तैमा अनाज प्राप्त भएको छ । अति पिछडिएका र महादलित मतदाताहरू विशेषगरी महिला मतदातामा नीतीश कुमारको असर अझै बाँकी छ ।
उता महागठबन्धनको आक्रामक प्रचारले १५ वर्षदेखिको सत्ताविरुद्ध माहौल बनाएको छ । तर उसको कमजोर कडी कांग्रेस हो किनकि टिकट दिने कुरामा गडबडी हुँदा पार्टीमा विवादको स्थिति आयो ।
निकै दबाब दिएर कांग्रेसले ७० वटा सीटमा साझेदारी पायो तर उसले ती सीटहरू जित्न सकेनछ भने महागठबन्धलाई सत्तामा पुग्न मुश्किल पर्नेछ । एनडीएका लागि यो राहतको कुरा मानिँदैछ ।
उता एनडीएमा लोक जनशक्ति पार्टीका कारण किचकिच भइरहेको छ ।
एलजेपी अध्यक्ष चिराग पासवानले नीतीश कुमारविरुद्ध कडा अभियान चलाए । पहिला त भाजपाले नै उनलाई नीतीशविरुद्ध अभियान चलाएको आरोप लाग्यो । नीतीश कड्किएपछि भाजपाले सार्वजनिक घोषणा गरेर एलजेपी एनडीएको साझेदार नभएको बताउनुपरेको थियो ।
चिरागले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अटुट समर्थन व्यक्त गर्दै नीतीशविरुद्ध लड्ने र कुनै गठबन्धनविना नै चुनावमा भिड्ने जिद्दी गरिरहेका छन् । नीतीशबाहेक अन्य कसैलाई भाजपाले मुख्यमन्त्री बनाउन चाहेमा आफ्नो समर्थन रहने उनको भनाइ छ ।
यसरी नीतीश कुमारसामु तेजस्वी यादव र चिराग पासवनाका रूपमा दुई युवा नेताको चुनौती छ । अनि उनले लगातार १५ वर्ष सत्ता चलाएकोले अनेक किसिमका असन्तोष जनतामा रहेको कुरा पनि यथार्थ हो ।
भाजपालाई पनि यसले अप्ठ्यारो पारिरहेको छ तर प्रधानमन्त्री मोदीको प्रचार अभियान र बिहारका लागि केन्द्रका तर्फबाट विशेष सहायताको बलमा चुनावमा फाइदा हुने अपेक्षा पनि उसले गरिरहेको छ ।
नीतीशविरुद्ध वातावरण बन्दै गएको भनी महागठबन्धनको हौसला बढेको छ । तेजस्वीका सभाहरूमा भीड बढ्नुको मुख्य कारण यही भएको बताइएको छ ।
तर प्रमुख टेलिभिजन च्यानलका ओपिनियन पोलले एनडीएलाई पनि सत्तामा राख्ने सम्भावना रहेको देखाइरहेका छन् ।