सन् २०२२ सम्ममा भारतीय सेनालाई पाँचवटा थिएटर कमान्डमा विभाजित गरी पुनर्गठन गरिने भएको छ । सैन्य कारवाहीको स्पष्ट परिभाषा दिलाउन तथा संयुक्त कारवाहीका लागि बाधारहित कमान्ड संरचना बनाउन यसो गरिने भएको हो ।
चीनलाई लक्षित गरी नर्दर्न कमान्ड र पाकिस्तानलक्षित वेस्टर्न कमान्ड बनाउने र तीनैथरी सेनालाई पुनर्गठन गरिने विषयमा गम्भीर सोचविचार गरिँदैछ ।
भारतको चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतलाई सरकारले यस्ता थिएटर कमान्ड बनाउने कार्यादेश दिएको छ । चीन र अमेरिकासँग यस्ता थिएटर कमान्डहरू छन् ।
सैन्य तथा राष्ट्रिय सुरक्षा योजनाकारहरूका अनुसार, नर्दर्न कमान्डले लद्दाखस्थित काराकोरम पासदेखि अरुणाचल प्रदेशको किबिथुसम्मका इलाका हेर्नेछ । चीनसँगको ३४ सय ८८ किलोमिटर वास्तविक नियन्त्रण रेखाको रेखदेख गर्ने जिम्मेवारी उसमा रहनेछ । यस कमान्डको मुख्यालय लखनउमा रहनेछ ।
पश्चिम कमान्ड चाहिँ सियाचिन क्षेत्रबाट गुजरातको अन्तिम विन्दुसम्म रहनेछ र यसको मुख्यालय जयपुरमा रहनेछ ।
तेस्रो थिएटर कमान्ड प्रायद्वीपीय कमान्ड हुनेछ, चौथो चाहिँ पूर्णतया हवाई सुरक्षा कमान्ड हुनेछ अनि पाँचौं चाहिँ जलक्षेत्रीय कमान्ड हुनेछ ।
अहिले भारतीय सेना, वायुसेना र जलसेना सबैले भारतीय हवाईक्षेत्रमा बेग्लाबेग्लै सञ्चार फ्रिक्वेन्सी उपयोग गर्ने गरेका छन् । भारतका सबै आर्मी कोर्प्स हेडक्वार्टरहरू एयर बेस नजिक हुनाले काम दोहोरिने गरेको छ र खर्च खेर जाने गरेको छ ।
यस थिएटर कमान्डलाई भविष्यमा आवश्यक परेमा एयरोस्पेस कमान्डका रूपमा समेत विस्तार गर्न सकिने सैन्य योजनाकारहरूले बताएका छन् ।
हिन्दुस्तान टाइम्सबाट