२७ असार २०८३, शनिबार

कोरोना संक्रमितको उपचारमा निजी अस्पतालको मनपरी शुल्क

कात्तिक १५, २०७७
कोरोना संक्रमितको उपचारमा निजी अस्पतालको मनपरी शुल्क

विराटनगरका निजी अस्पतालले कोरोना संक्रमितको उपचारमा मनपरी शुल्क लिने गरेको पाइएको छ । अस्पतालहरूले संक्रमितबाट एकदेखि तीन लाखसम्म धरौटी लिएर प्रत्येक दिन ५ हजारदेखि २५ हजार रुपैयाँसम्म शुल्क लिने गरेको पाइएको हो ।

सरकारले संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा गरेलगत्तै अस्पतालहरूले मनोमानी रूपमा शुल्क लिन थालेका हुन् । संक्रमितको उपचार गर्दै आएका नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र न्युरो अस्पतालले मनपरी शुल्क र धरौटी रकम लिने गरेको पाइएपछि कांग्रेस विराटनगर महानगर समितिले विरोध गरेको छ ।

नोबेलले जनरल वार्डमा प्रतिदिन ५ हजार, भेन्टिलेटरसहितको आईसीयूमा १८ हजार र भेन्टिलेटरबिनाको आईसीयूमा उपचार गर्दा प्रतिदिन १५ हजार शुल्क लिने गरेको छ । अस्पतालले संक्रमित भर्ना हुँदा अग्रिम एक लाख रुपैयाँ धरौटी लिने गरेको छ । तर, अस्पतालका प्रबन्धक नारायण दाहालले बिरामीसँग धरौटी नलिएको बताए । तर, उक्त अस्पतालमा धरौटी जम्मा गर्न नसक्दा रतुवामाई–१० की ४५ वर्षीय नरमाया मगरले घरमा झुन्डिएर आत्महत्या गरेको परिवारको दाबी छ ।

सोमबार कोरोना पोजिटिभ रिपोर्ट आएपछि उनलाई नोबेल पुर्‍याइएको थियो । अस्पतालले एक लाख रुपैयाँ धरौटी मागेको थियो ।

विराट मेडिकल कलेजले आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई तीन लाख रुपैयाँ धरौटी लिने र उपचारबापत प्रत्येक दिन २५ हजार तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपरे १५ हजार रुपैयाँ शुल्क लिने गरेको छ । अस्पताल स्रोतका अनुसार लक्षण नदेखिएका संक्रमित सामान्य बेडमा बस्दा एक लाख रुपैयाँ धरौटी लिने गरिएको छ ।

प्रत्येक दिन ८ हजार रुपैयाँ शुल्क तोकिएको छ । लक्षण देखिएका बिरामीको उपचारका नाममा अस्पतालले दैनिक ५० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ । न्युरो अस्पतालले आईसीयूका बिरामीसँग एक लाख रुपैयाँ धरौटी लिएर हरेक दिन १५ हजार शुल्क लिँदै आएको छ । अस्पताल स्रोतका अनुसार सामान्य वार्डमा बसेर उपचार गराउने संक्रमितसँग अस्पतालले ५० हजार धरौटी लिने गरेको छ । कान्तिपुर दैनिकमा विनोद भण्डारीले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्