
मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् ।
गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरू भौंतारिन बाध्य छन् ।
धानमा समेत छर्न नपाएको मल धान काटेर गहुँ छर्ने बेलामा समेत नपाइएपछि किसान थप चिन्तित बनेका हुन् । राजपुरका किसान धुव्र यादवले मल नपाएर गंहँु छर्न ढिलाइ भएको बताए ।
उनले भने, ‘धान पसाउने बेलामा पनि मल पाइएन र अहिले गहुँ छर्ने बेलामा पनि मालको अभाव भएको छ ।’
शिजराज नगरपालिका खरेन्द्रपुरका तुल्सीराम यादवले मल नपाएर गहुँ छर्न नपाएको बताए । सम्बन्धित निकायले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको किसानको भनाइ छ । कृषि कार्यालय तौलिहवाका वासुदेव पौडेलले जिल्लामा डिएपी र युरिया मलको अभाव रहेको स्वीकार गर्दै साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा समेत मल नभएका कारण वितरण गर्न नसकिएको बताए । कोरोना महामारीका कारण मल आउन ढिलाइ भएको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मल पर्याप्त नभएकाले अहिले वितरण गर्न नसकिने र कृषि मन्त्रालयबाट खरिद भई आएमा वितरण गर्ने प्रक्रिया अघि बढाउने बताए ।