२१ जेठ २०८३, बिहीबार

मजदुरको पीसीआर परीक्षण गर्ने सहमतिपछि आन्दोलन स्थगित

कात्तिक १५, २०७७
मजदुरको पीसीआर परीक्षण गर्ने सहमतिपछि आन्दोलन स्थगित
प्रतिकात्मक तस्वीर

पीसीआर परीक्षण गर्ने सहमतिपछि तनहुँ जलविद्युत् आयोजनाका मजदुरले आन्दोलन स्थगित गरेका छन् ।

तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुरको पीसीआर परीक्षण हुने भएपछि शुक्रवारदेखि शुरू आन्दोलन शनिवार स्थगित भएको हो ।

आरडीटी परीक्षण पश्चात् पोजिटिभ देखिएका मजदुरलाई काममा लगाएको भन्दै मजदुरले शुक्रवार दिउँसोदेखि आन्दोलन गरेका थिए । आफूहरूको माग बमोजिम पीसीआर परीक्षण हुने भएपछि आन्दोलन स्थगित गरिएको मजदुर मोती श्रेष्ठले जानकारी दिए ।

‘पोजिटिभ आएका मजदुरलाई आइसोलेशनमा नराखी काममा लगाएपछि विरोध गर्दै आन्दोलनमा उत्रिएका हौं,’ श्रेष्ठले भने, ‘पीसीआर परीक्षण पश्चात् काम गर्ने गरी आन्दोलन स्थगित गरेका छौं ।’

यसअघि मजदुर र निर्माण कम्पनीबीच दशैं बिदाबाट फर्किएपछि पीसीआर परीक्षण गर्ने सहमति भएको थियो । तनहुँ जलविद्युत् आयोजनाका प्रमुख अच्युत घिमिरेले ६९ मजदुरको आइतवार पीसीआर परीक्षण गरिने जानकारी दिए ।

‘दशैं बिदा सकेर ४ दिनअघि आएका मजदुरको पीसीआर परीक्षण गर्ने सहमति भएको छ,’ उनले भने, ‘नतिजा आएपछि मजदुर पुनः काममा फर्किन्छन् ।’

दशैं मान्न घर गएका मजदुर टीकाको भोलिपल्ट काममा फर्किएका थिए । नेपाली मजदुर दशैं बिदामा घर गएका बेला पनि चिनियाँ मजदुरले विद्युत् गृह निर्माणको काम सञ्चालन गरेका थिए । असोज अन्तिम हप्ता सबै मजदुरको पिसीआर परीक्षण गरिनुपर्ने मागसहित मजदुरले आन्दोलन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्