११ साउन २०८३, सोमबार

अनुदानको चामल बरामद प्रकरण : मुख्य व्यक्तिलाई बयानमै बोलाइएन

कात्तिक १६, २०७७
अनुदानको चामल बरामद प्रकरण : मुख्य व्यक्तिलाई बयानमै बोलाइएन
तस्वीर सौजन्य : कान्तिपुर दैनिक

भक्तपुर लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रहेको खुलेको छ ।

‘प्रहरीले नियन्त्रणमा लिएको चामलको नमुना हामी (कम्पनी) सँग रहेको जापानी चामलसँग मिलेको छ,’ कम्पनीको सुर्खेतस्थित कार्यालयका प्रमुख माधव मिश्रले कान्तिपुरसँग भने, ‘प्रारम्भिक रूपमा हामीले प्रहरीलाई यही रिपोर्ट दिन्छौं ।’ सरकारी अनुदानको जापानी चामल बजारमा नपाइने उनले बताए ।

सुर्खेत प्रहरीले वीरेन्द्रनगरस्थित दुर्गा भगवती इन्टरप्राइजेजका नाममा भक्तपुर पठाउन लागिएको २ सय ५० क्विन्टल चामल बिहीबार सुब्बाकुनाबाट नियन्त्रणमा लिएको थियो । इन्टरप्राइजेजका प्रोप्राइटर रहेका वासुदेव शर्मा अर्को व्यावसायिक फर्म शर्मा निर्माण सेवाका समेत मालिक हुन् । शर्मा निर्माण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल ढुवानीकर्ता हो । उनले शर्मा निर्माणका नाममा मुगुको कालै बिक्री केन्द्रमा पठाउने भनेर कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट चामल उठाएका थिए । उक्त चामल मुगु पठाउनुको साटो भक्तपुर पठाउन लागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । ‘हामीसँग भएका प्रमाणले चामल भक्तपुर लान खोजिएको भन्ने स्पष्ट भएको छ,’ जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टले भने, ‘चामलको परीक्षण रिपोर्ट प्राप्त भएपछि मुद्दा प्रक्रिया अघि बढाउँछौं ।’

प्रहरीले इन्टरप्राइजेजका ६ जना कर्मचारीसँग बयान लिए पनि मालिक शर्मालाई बोलाएको छैन । एसपी भट्टले इन्टरप्राइजेजका म्यानेजरमार्फत बोलाइएको भए पनि उनी कार्यालयमा नआएको बताए । प्रहरीबाट यही उन्मुक्ति पाउँदा शर्मालाई प्रमाण कमजोर बनाउन र प्रहरी–प्रशासन तथा खाद्य कम्पनीलाई प्रभावित गर्न सहज भएको सरोकारवालाको भनाइ छ । ‘सरकारी अनुदानको चामल बेच्ने घटनामा मुछिएका व्यापारीलाई पक्राउ गर्नु त टाढाको कुरा, अहिलेसम्म बयान पनि नलिँदा आश्चर्य लागेको छ,’ राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश संयोजक आकाशतारा बयकले भने, ‘यसले गर्दा उनले बाहिर अनेक चलखेल गर्ने मौका पाउँछन्, आफूअनुकूल कागज मिलाउन सक्छन् ।’

शर्माले कालै बिक्री केन्द्रका लागि कम्पनीको गोदामबाट असोज २६ गतेसम्म १ हजार क्विन्टल र कात्तिक ५ गते १ सय क्विन्टल चामल उठाएका थिए । उक्त चामलमध्ये २ सय ५० क्विन्टल भक्तपुर लैजाँदै गर्दा नियन्त्रणमा लिइएको छ भने करिब २ सय क्विन्टल शर्मा निर्माण सेवाको वीरेन्द्रनगरस्थित गोदाममा छ । बाँकी चामल कहाँ छ भन्नेबारे अनुसन्धानबाट थाहा हुने प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।

शर्मा निर्माण सेवाले असोज १६ गते कम्पनीसँग गरेको सम्झौतामा भने १५ दिनभित्र तोकिएको स्थानमा चामल पुर्‍याइसक्ने उल्लेख छ । चामल छाड्न र मुद्दा कमजोर बनाउन विभिन्न ठाउँबाट दबाब आए पनि प्रहरी–प्रशासन प्रभावित नहुने उनले बताए । उनका अनुसार प्रहरीले मुलुकी फौजदारी कार्यविधि संहिताको ठगी महल वा कालोबजारी र केही अन्य सामाजिक तथा सजाय ऐनअन्तर्गत मुद्दा चलाउने गरी अनुसन्धान अघि बढाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्