३२ असार २०८३, बिहीबार

रित्तिए ग्रामीण बस्ती : खण्डहर बन्दै गाउँका घर, थोरै पैसा जोडेपछि शहर झरिहाल्ने रहर !

कात्तिक १६, २०७७
रित्तिए ग्रामीण बस्ती : खण्डहर बन्दै गाउँका घर, थोरै पैसा जोडेपछि शहर झरिहाल्ने रहर !

डेढ दशक अगाडिदेखि चलेको तीव्र बसाइँसराइको शृंखलाले पहाडी जिल्लाका ग्रामिण बस्तीहरू रित्तिन (मानवविहीन हुन) थालेका छन् ।

मध्यपहाडी जिल्लाबाट सुविधा र रोजीरोटीको खोजीमा तराई र शहरी क्षेत्रमा बसाइँसराइ चुलिँदा गाउँघर खाली हुँदै गएका हुन् । 

स्थानीय तहको पुनरसंरचना भएर गाउँ–गाउँमा पुगेका सिंहदरबारले पहाडी जिल्लामा यातायात, स्वास्थ्य, सञ्चार, शिक्षा र विद्युत् लगायतका पूर्वाधार तयार गरी विकासले फड्को मार्दै गए पनि बसाइँसराइ भने झनै बढ्दै गएको छ । 

राज्यको पुनःसंरचनाले बसाइँसराइलाई रोक्नुको सट्टा बढेको छ । जिल्लाका प्रत्येक वडामा पुगेका मोटरबाटो बसाइँसराइका लागि सामान ओसार्नका लागि बनाइएको जस्तो देखिएको छ । गाउँमा अहिले वृद्धवृद्धा मात्र छन् । गाउँघर अहिले युवाविहीन छ । 

बाग्लुङको साबिक पैञ्यू थन्थाप, राङखानी, दमेक, विनमारे, गाविस (हाल जैमिनी नगरपालिका) का अधिकांश घर खाली छन् । त्यस्तै गुल्मी सत्यवती गाउँपालिकाको भार्से, कालीगण्डकी गाउँपालिकाको फोक्सिङ, खड्गकोट, जयखानी अर्घाखाँचीको पाणिनी, बलकोट, गोखुङगा क्षेत्रका गाउँहरू ६० देखि ९० प्रतिशतसम्म घर खालि भइसकेका छन् । बसाइँसराइ नभएका गाउँका घरमा पनि वृद्धवृद्धा मात्र छन् । 

बाग्लुङको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले गाउँका मानिसहरूमा शहरीया मानसिकता बढ्दै जाँदा बसाइँसराइले भयावह रूप लिएको बताए । 

पौडेलले लोकान्तरसँग भने, ‘बसाइँसराइ रोक्न युवालाई कृषि, पर्यटन र  पशुपालनमा व्यवसायिक योजनाहरू ल्याएका छौं । कृषिमा यान्त्रिकीरण पनि भइरहेको छ । तर, युवामा जागिरे मानसिकता बढी देखियो । विदेश, काठमाडौं वा तराई भन्ने मात्र सोचाई विकास भयो । गाउँमै केही गरौं गर्नुपर्छ भन्ने बुझ्न सकेनन्, जसले गर्दा नगरपालिकाको जनसंख्या नै घट्ने क्रम शुरू भयो, मानिसहरूले गाउँ छाडे ।’ बाग्लुङ सबैभन्दा बढी बसाइँसराइ हुने नेपालको १० जिल्लाभित्र परेको छ । 

जैमिनीमा नगरपालिकाबाट प्रत्येक दिन दैनिक २ जना स्थायी रूपमै तराईका जिल्लामा बसाइँसराइ गर्ने गरेको तथ्यांक वडा कार्यालयबाट आउने गरेको मेयर पौडेल बताउँछन् । जैमिनी नगरपालिकामा उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, जैमिनी बरेङ जोड्ने सडक कालोपत्र हुँदैछ । ९० प्रतिशत सामुदायिक विद्यालय राम्रा छन् । घरघरमा सडक पुगेको छ । तर, पनि बसाइँसराइ झनै तीव्र छ ।

पहाडबाट विशेषगरी दुई स्तरका मानिसहरू बढी बसाइँ सरिरहेका छन् । आर्थिक रूपमा सम्पन्न मानिस थप सुविधाका लागि र विपन्न व्यक्ति रोजीरोटीकै लागि बसाइँसराइ गरेको देखिन्छ ।

रोजगारीका लागि घर छाड्ने युवालाई गाउँमै आर्थिक उपार्जन गर्ने योजना स्थानीय तहहरूले दिन नसक्दा आश्रित परिवार नै गाउँ छाडेर हिँडेको देखिन्छ ।

गुल्मीको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष तारा थापाले बसाइँसराइ रोक्न युवा स्वरोजगार कार्यक्रम ल्याएर गाउँमै उद्यम गर्ने वातावरण बनाए पनि त्यसले काम नगरेको बताइन् ।

उनले लोकान्तरसँग भनिन्, ‘हाम्रो गाउँपालिकाको फोक्सिङ, खड्गकोट, जयखानी, ठाउँबाट दैनिक १/२ घर बसाइँसराइ गरेका छन् । विदेशमा ठूलो कमाइ गर्ने युवाहरूले गाउँको १५/२० हजार कमाइ नदेखेर परिवार नै उठाएर तराई लगेर राख्ने र आफू वैदेशिक रोजगारीमा जाने क्रम देखियो ।’ 

बाग्लुङ, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, पर्वतबाट रुपन्देही, कपिलवस्तु, चितवन, बाँके र बर्दियामा बसाइँसराइ हुने गरेको छ । पहाडका खाली घरहरू खण्डहर बनेका छन् । पुराना कलात्मक घरहरू भत्किएका छन् ।

हाडको जग्गा विक्री वितरण पनि हुँदैन । खेतीयोग्य जग्गा अहिले झाडीको रूपमा परिणत भएका छन् । बसाइँसराइले पहाडको कला संस्कृति पनि हराउँदै गएको छ ।  

जनसंख्या र बसाइँसराइका जानकार युवराज कंडेल पहाडमा शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन नगर्दासम्म बसाइँसराइ रोक्न नसकिने देखिएको बताउँछन् । पहाडको कूल जनसंख्याको ४० प्रतिशत मानिस बसाइँसराइ गरी तराईका जिल्लामा झरेका छन् । यो क्रम अझै बढ्दै गएको छ । परिवार नै आश्रित युवालाई गाउँमा रोजगारी दिएर रोक्न र शिक्षा र स्वास्थ्य गाउँमा राम्रो दिन नसक्दासम्म पहाडको बसाइँसराइ रोकिँदैन ।’ ​

कंडेलले थपे, ‘युवा रोजगारीका लागि विदेश जान थालेपछि परिवार बालबच्चा पढाउन तराई झरे । रेमिट्यान्सको कमाइ मानिसहरूले गाउँमा लगानी गरेनन् । तराईमा सानो घडेरी किनेर घर बनाए, गाउँ गएनन् ।’

यसको असरले तराईका जिल्लामा वन क्षेत्र फडानी, सुकुम्वासी बस्ती र नदी उकास क्षेत्र भरिँदै गएको छ । 

‘दश वर्ष अगाडिसम्म एसएलसी पास भएपछि पढ्न सदरमुकाम पुग्नुको विकल्प थिएन । गाउँमा बाटो थिएन । गाडी गुड्दैनथे । बिजुली थिएन । फोन गर्नका लागि दिनभर हिँडेर सदरमुकाम पुग्नुपर्थ्यो ।

अहिले सबै सुविधा हातहातमा हुँदा पनि मानिसहरू रोकिएनन्,’ जैमिनीका पुराना स्थानीय लक्ष्मीधर ढुंगानाले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्