अमेरिकी राष्ट्रपति निर्वाचन २०२० को प्रारम्भिक नतिजा हेर्दा अमेरिकी जनताको लोकप्रिय मत राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई हुँदाहुँदै पनि उनी इलेक्ट्रोल मतका आधारमा पछि देखिएका छन् ।
हालसम्म २२३ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा ट्रम्पको पार्टी रिपब्लिकनले ३ करोड १२ लाख १२ हजार ४९३ मत पाएको छ भने अर्का उम्मेदवार जो बाइडनको पार्टी डेमोक्र्याटले ३ करोड २२ हजार १८३ मत पाएको छ ।
लोकप्रिय मतमा ट्रम्प अगाडि देखिए पनि इलेक्ट्रोल सिटमा बाइडन अगाडि छन् । बाइडनको पार्टीले १३१ सिटमा जित्दासम्म ट्रम्पको पार्टीले ९२ सिटमा मात्रै जित हात पारेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा इलेक्ट्रोल सिटका आधारमा राष्ट्रपति निर्वाचित गरिन्छ ।
अमेरिकी राष्ट्रपति हुन २७० सिटमा जित्नुपर्ने हुन्छ । अमेरिकामा ५३८ सिटमा निर्वाचन भएको थियो । हाल मतगणना जारी रहेको छ ।
हालसम्म राष्ट्रपतिका दुवै उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडनबीच कडा टक्कर देखिएको छ । कडा प्रतिस्पर्धाबीच बाइडन अघिअघि र ट्रम्प पछिपछि देखिएका छन् ।