
त्रिपुरेश्वरमा बिहीबार आफैंलाई आगो लगाएर आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएपछि सडकदेखि सदनसम्म विरोध भएको छ ।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको हो ।
पठाओ, इन्ड्राइभ अनलाइन राइड सेवाबाट जीविकोपार्जन गर्दै आएका नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाएपछि विवाद भएको थियो ।
सोही विवाद चर्किँदै गएपछि उनले आफैंलाई पेट्रोल छर्किएर आगो लगाएका थिए । घटनालगत्तै उनलाई वीर अस्पताल पुर्याएर उपचारका लागि भर्ना गरिएको थियो ।
शुक्रबार चिकित्सकले मृत घोषित गरेपछि सडकदेखि सदनसम्म विरोधका स्वरहरू उठेका हुन् ।

नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै यसलाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई राज्य र समाजका लागि सामूहिक आत्मचिन्तनको विषय बनाउन आग्रह गरे ।
शुक्रबार सामाजिक सञ्जालमार्फत गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
सभापति थापाले अहिलेको आवश्यकता दोषारोपण नभई पीडित परिवारलाई सक्दो साथ र सहयोग गर्नु रहेको उल्लेख गरेका छन्।
उनले गणेश नेपालीका आश्रित परिवारको दुःखमा मल्हम लगाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका छन्।
थापाले यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्नेमा जोड दिएका छन्।
'हामीले आफैंसँग केही कठिन प्रश्न सोध्नैपर्छ- एउटा युवा किन यस्तो निराशाको विन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौं?,' उनले प्रश्न गरेका छन् ।
यस्तै, सदनमा विपक्षी दलका सांसदले सरकारको गलत नीति र अत्याचारका कारण गरिब जनता आत्मदाह गर्नुपर्ने अवस्थामा पुगेको बताए ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले सरकारको गलत नीतिका कारण नेपालीले आत्मदाह गरेको बताइन् ।
एमालेका ऐन महरले बालेन सरकारको अत्याचारका कारण आत्मदाह गर्ने अवस्था सिर्जना भएको भन्दै आक्रोश व्यक्त गरे । उनले संसदभित्रै ‘बालेन सरकार मुर्दावाद’को नारा लगाए ।

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको बताए ।
उनले प्रश्न गरे– 'काठमाडौं अर्बपतिको मात्र शहर हो ?'
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहोराले गणेश नेपाली आत्मदाह प्रकरणमा छानबिनको माग गरे ।

'म राज्यको, सरकारको ध्यानाकर्षण गराउँछु- गणेश नेपालीहरू किन आत्महत्या गर्न बाध्य भए, त्यसको छानबिन गरियोस् । हिजो प्रेम आचार्य आत्महत्या गर्दाखेरि, सरकारले त्यो बेला के गर्यो ? के हुनु पर्थ्यो ? आज गणेश नेपालीको आत्महत्यापछि सरकारले गर्नुपर्ने कामहरू के हुन् त ?,' उनले भने ।
काउन्सिलिङका लागि निर्धारण भएको ११६६ नम्बर प्रयोगमा नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
सदनमै भक्कानिए गृहमन्त्री
सदनमा चौतर्फी आवाज उठेपछि गृहमन्त्री सुधन गुरुङले पनि समय लिएर बोले ।
शुरूमा रोस्ट्रम पुगेर भक्कानिएपछि फर्किएका गुरुङ फेरि गएर बोलेका थिए ।
उनले सदनमा प्रश्न उठाउनुअघि बिहीबार राति वीर अस्पतालमा को–को पुगे ? भनेर प्रश्न गरे ।
‘मैले धेरै साथीहरू देखेँ, यहाँ उभिएर घाँटी सुक्ने गरी चिच्याइ-चिच्याइ कराइरहनुभएको छ, हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो ?,’ गुरुङले भने, 'मुखले चिच्याएर हुँदैन, म स्टन्ट गर्न आएको होइन, देशको सेवा गर्न आएको हो ।’

उनले थपे, 'परराष्ट्रमन्त्री र सचिव उठ्नुभयो । भारतीय दूतावासमा कुरा गर्नुभयो । म राति आफैं एयरपोर्ट गएको हो । त्यसलाई स्टन्टबाजी भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबै जनाबाट चाहियो, आफ्ना नागरिकको सेवा गर्नलाई,' उनले भने, 'क्यामेरासँग भाग्ने मान्छे हो हामी । हामीलाई त्यति राम्रो बोल्न आउँदैन । हामीलाई काम गर्न आउँछ । हामीले कुनै दल वा पार्टी भनेर छुट्याएका छैनौं । पहिला दिनभरि ड्रामा हुन्थ्यो । जहाज श्री एयरलाइन्स रेडी गरेकै हो । पर्मिसन लिएकै हो । डाक्टरहरूले बिरामीलाई स्टेबल राख्नुपर्यो भन्नुभयो । ब्लडप्रेसर लो भएपछि ब्यालेन्समा ल्याउनुपर्यो ।'
गृहमन्त्री गुरुङले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।
साथै, उनले यस प्रकरणमा तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।
'डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छौं,' उनले भने, 'तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएका छौं ।'
सडकमा विद्यार्थीहरूको संयुक्त विरोध

गणेश नेपाली आत्मदाह प्रकरणमा विद्यार्थी संगठनहरूले माइतीघर मण्डलामा शुक्रबार संयुक्त प्रदर्शन गरे ।
उनीहरूले सुकुम्बासीमाथि अमानवीय व्यवहार भएको भन्दै आपत्ति समेत जनाए ।
गणेश नेपालीलाई राज्यले नै आत्मदाह गर्न बाध्य बनाएको भन्दै विद्यार्थी संगठनहरूले आक्रोश पोखे ।

साथै, उनीहरूले सुकुम्बासीमाथि अमानवीय हर्कत बन्द गर, तुरुन्त गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर लगायतका नारासहितको प्लेकार्ड समेत बोकेका थिए ।
त्यसअघि आक्रोशित युवाहरूको भीड वीर अस्पतालतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले भद्रकालीमा रोकेको थियो ।