३० असार २०८३, मंगलबार

विद्यासुन्दर शाक्यको प्रस्टीकरण : काठमाडौंलाई मागिखानेको शहर भनेर चिनाउने प्रयास नहोस्

कात्तिक १९, २०७७
विद्यासुन्दर शाक्यको प्रस्टीकरण : काठमाडौंलाई मागिखानेको शहर भनेर चिनाउने प्रयास नहोस्

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले काठमाडौंलाई मागिखानेहरूको शहरका रूपमा चिनाउने प्रयास नगर्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा चर्काे आलोचना भएपछि प्रस्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा काठमाडौंलाई गरिखानेहरूको शहरका रूपमा चिनाउन आग्रह गरिएको छ ।

‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभर खाना खान पाउनुपर्छ, काठमाडौं महानगर यो मान्यतामा दृढ छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न ।’

कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाइ स्वास्थ्यमाथि नै हेलचक्र्याइँ गर्नु ठीक नभएको शाक्यले जनाएका छन् । ‘उनीहरूकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र सांस्कृतिक शहरका रूपमा परिचित काठमाडौं मागिखानेहरूको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ,’ मेयरको भनाई छ ।
कुनै पनि मानवीय सेवा यदि स्वच्छभाव र स्वार्थरहित ढंगले प्रदान गरिएको भए आडम्बरपूर्ण सार्वजनिक प्रदर्शनको विषय बनाउन नहुने मेयर शाक्यको तर्क छ । ‘समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खाना खुवाउने कार्यमा काठमाडौं महानगरपालिकाको कुनै वैरभाव छैन ।’

यस्तो छ विज्ञप्तिको पूर्णपाठ –

काठमाडौँ महानगरपालिका काठमाडौँ महानगरवासीको स्वस्थ्य जीवनप्रति सम्वेदनशील छ । काठमाडौं महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।

सर्वप्रथम विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ का कारण प्रभावित भएका काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्ने आम नागरिकलाई काठमाडौँ महानगरपालिकाले शुरुदेखि नै सहयोग गर्दै आइरहेको स्मरणीय छ । लकडाउन अवधिभर काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको विदितै छ । सो अवधिमा मात्रै काठमाडौँ महानगरपालिकाले १ लाख ५० हजार भन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने कार्य गरेको थियो । 

लामो समयको लकडाउनपछि पनि कोरोनाको महामारीबाट मुक्त हुन नसकेको  अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिका क्षेत्र भित्र बसोबास गरिरहेका काम गर्न सक्ने तथा कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामथ्र्य र सिपको आधारमा रोजगारी दिई काठमाडौँ महानगरपालिकाले जीवन निर्वाहका लागि पारिश्रमिक दिने कार्यको थालनी गरेको पनि जानकारी गराउन चाहन्छु ।

त्यसका लागि कार्यपालिकाको बैठकले जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ नै पारित गरि कार्यान्वयनमा रहेको छ । उक्त कार्यविधिमा उनीहरुलाई वडा कार्यालयबाट सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत सम्भार, ढल निकास तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौन्दर्यीकरण जस्ता काममा लगाउने उल्लेख छ । 

कार्यविधिमै सार्वजनिक पार्क संरक्षण तथा हरियाली विकास, स्वास्थ्य, सरसफाई तथा फोहोरमैला व्यस्थापन, महानगरपालिका तथा वडाले तोकेका अन्य विभिन्न काममा लगाई हप्तामा कम्तीमा दुई दिनका दरले तोकिएको दैनिक ज्यालादारीमा रोजगारी दिने पनि उल्लेख छ । साथै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पनि रोजगारी सिर्जना गर्ने कार्यक्रम रहेको छ ।  

त्यस्तै काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमको सहकार्यमा विगत तीन वर्षदेखि सडकमा रहेका वेवारिसे, मनोरोगी तथा अशक्त–असहायको उद्धार गरी पालनपोषण, औषधोपचार तथा परिवारमा पुनर्मिलन गराउने कार्य गर्दै आएको पनि जानकारी गराउन चाहन्छु । काठमाडौं महानगरलाई सहयोगापेक्षी सडक मानव मुक्त शहर बनाउने घोषित नीति अनुसार नै उक्त कार्य अघि बढेको थियो जुन अहिले पनि जारी छ ।

कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी हुनुहुन्छ भने उहाँहरूले आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा उहाँहरू कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिवद्ध छ ।  

अहिले मुलुकमा लकडाउन छैन । यस्तो बेलामा हामी सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिन्छ । 
हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ, काठमाडौँ महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न । 
काठमाडौंलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने हाम्रो मान्यता रही आएको छ । कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक शहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ । 

कोरोना महामारीका कारण रोजगारी गुमी केही समयका लागि हातमुख जोड्ने समस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाललगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई भने यसले आघात पुर्‍याउने कुराप्रति हामी सबै सचेत हुनै पर्दछ ।     

कोरोना महामारी अहिले राष्ट्रिय संकटका रूपमा हामी सामु विद्यमान छ । यस घडीमा समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिरहनु भएका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि धन्यवाद दिदैँ काठमाडौँ महानगरपालिकासँग समन्वय गर्न विनयपूर्वक आग्रह गर्न चाहन्छ । 

अहिले काठमाडौंका पुरानो बसपार्क लगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आउने गरेको कुराप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ ।

कुनै पनि मानवीय सेवा यदि स्वच्छभाव र स्वार्थरहित ढंगले प्रदान गरिएको छ भने त्यसलाई आडम्बरपूर्ण सार्वजनिक प्रदर्शनको विषय बनाउनु आवश्यक हुन्न । समस्यामा परेका श्रमिक, गरिब र असहायलाई खाना खुवाउने कार्यमा काठमाडौँ महानगरपालिकाको कुनै वैरभाव छैन । 

स्वास्थ्य मापदण्डलाई समेत ध्यानमा राखी सुरक्षितपूर्वक असल हेतुले त्यस्ता नागरिकलाई खाना खुवाउने कार्यमा काठमाडौँ महानगरपालिका विगतका दिनमा सक्रिय रहँदै आएको थियो । आगामी दिनमा पनि सहकार्य गर्न काठमाडौं महानगरपालिका सदैव तयार छ ।

अन्त्यमा, जनगुनासोलाई समेत ध्यानमा राखी बढी भिडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित  ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा हार्दिक अनुरोध गर्दछु । त्यसका लागि आवश्यक सहयोग गर्न काठमाडौँ महानगरपालिका तयार रहेको पनि स्मरण गराउन चाहन्छु । यो कार्यलाई आग्रह–पुर्वाग्रहका रुपमा भन्दा पनि सबैको हितमा हुने गरी अघि बढ्न पुनः सबैसँग विनयपूर्वक आग्रह गर्दछु ।    
          
विद्यासुन्दर शाक्य
प्रमुख, काठमाडौँ महानगरपालिका

 २०७७ कार्तिक १९ रोज ४ शुभम 
 नेपाल सम्वत् ११४० कौलागा चथुर्ती 
 

salt training

कमेन्ट गर्नुहोस्