काठमाडौं, २९ वैशाख - दलित मतदातालाई रकम वितरण गरेको आरोपमा नुवाकोटमा रकमसहित नेपाली कांग्रेसका मेयरका उम्मेदवारका भाईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । विदुर नगरपालिकामा नेपाली कांग्रेसवाट मेयर पदका उम्मेदवार ध्रुव अधिकारीका भाई सुरेन्द्रराज अधिकारीलाई मध्यराती रकमसहित स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।
निर्वाचनमा मतदातालाई रकम वाँढेको दावीसहित स्थानीयवासीले विदुर नगरपालिका वडा नं. ९ दशमुरेचौतारोमा मध्यराती लाखौं नगद रुपैयासहित मेयर पदका उम्मेदवारका भाइसमेत रहेका कांग्रेस नुवाकोट जिल्ला सचिव सुरेन्द्रराज अधिकारीसहित तीन जनालाई नियन्त्रणमा लिएका हुन् । प्रहरीको रोहवरमा अधिकारीको साथमा रहेको झोलावाट एकहजार रुपैयाको एक पेटी रकम वरामद भएको छ । स्थानीयवासीले मेयर पदका उम्मेदवार ध्रुव अधिकारीका भाई सुरेन्द्रराज अधिकारी, त्रिभुवन त्रिशूली माविका शिक्षक नवराज आचार्य र उत्तरगया अंग्र्रेजी विद्यालयका प्रिन्सिपल सुनील श्रेष्ठलाई दलित समुदायलाई रकम वितरण गरेको जनाउंदै घेरावन्दीसहित नियन्त्रणमा लिएका हुन् ।
अधिकारीको साथमा रहेको झोलावाट रकम वरामद भएको हो । कांग्रेस सचिव अधिकारीले आफ्नो साथवाट वरामद रकमका सम्वन्धमा पत्रकारलाई कुनै पनि वास्तविकता वताएर रकमको औचित्यका सम्वन्धमा कुनै पुष्टि गर्न चाहनु भएन । उहांले निर्वाचनमा मौन समय विहीवार मध्यराती १२ वजेदेखि लागु हुदै गरेको वेला स्थानीयवासीले आफुलाई राती सांढे ११ वजे नियन्त्रणमा लिएको वताउनुभयो ।
अरु वेला सांझ सात वजे नै कार्यालयवाट घर फर्कने अधिकारीलाई विहीवार मध्यराती शंकास्पद अवस्थामा स्थानीयवासीले मतदातामाझ देखेपछि नियन्त्रणमा लिएका हुन् । पहिले विकास निर्माणका लागि वास्ता नगर्नेहरु मध्यरातको समयमा मिजार वस्तीमा निर्वाचनलाई प्रभाव पार्ने गरि कांग्रेसका तर्फवाट मेयरका उम्मेदवार ध्रुव अधिकारीका भाई सुरेन्द्रराज अधिकारीले रकम वाँढेको कारण स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएर पठाइएको स्थानीयवासी राजेन्द्र भण्डारीले वताउनुभयो । उहांले कांग्रेसले सो स्थानमा पहिलेदेखि मातदाता किन्ने कार्य गरिरहेको वताउनुभयो ।
दलित समुदायलाई रकम वितरण गरेर मत किन्ने कार्यमा सरिक भइरहेका अवस्थामा स्थानीयवासीले कांग्रेसका मेयर उम्मेदवार ध्रुव अधिकारीका भाई कांग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारी सहित तीन जनालाई नियन्त्रणमा लिएर प्रहरी निरीक्षक जीतेन्द्रकुमार वस्नेतको रोहवरमा रकम वरामद गरि राती सांढे १ वजे छाडिएको घटनाका प्रत्यक्षदर्शी नेकपा एमाले विदुर नगरका मेयर पदका उम्मेदवार सन्जु पण्डितले वताउनुभयो ।
उहांले कारवाहीको लागी मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुर नुवाकोट, निर्वाचन आयोग तथा विभिन्न सरोकारवाला निकायमा उजुरी दिनुभएको छ । रकम वांढ्नका लागि नगद रुपैया राख्न लागि मध्यराती सांढे ११ वजे कांग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारीको टोलीले विदुर नगरपालिका वडा नं. ९ दशमुरेचौतारोमामा रहेको पसलवाट खामसमेत किनेको नेकपा एमाले कार्यकर्ताले दावी गरेका छन् ।
सो पसलका मालिक चिरन्जिवी गिरीले राती सांढे ११ वजे अधिकारीसहित तीन जनाले शुक्रवार वालकको पास्नी छ खाम दिनुस भन्दै ३० थान खाम आफ्नो पसलमा खरिद गरेको पुष्टि गर्नुभयो । निर्वाचनको सन्दर्भमा मतदातालाई प्रभाव पार्ने गरि कुनै पनि गतिविधि गरेको पाइएमा आचारसंहिता उल्लंघन गरेको ठहर हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरका सहायक निर्वाचन अधिकृत महिमानसिह विष्टले जानकारी दिनुभयो ।
मतदातालाई प्रभाव पार्न दलित वस्तीमा रकम वांढेर फर्कदै गरेको सुचनाका आधारमा स्थानीय महिलासहितको टोलीले अधिकारीसहित तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।
रकम वांढ्ने कांग्रेसका मेयर उम्मेदवार धु्रव अधिकारीलगायतलाई कारवाही हुनु पर्ने एमाले जिल्ला सचिव वुद्धिवहादुर प्रधानले वताउनुभयो । यसैवीच, शुक्रवार विदुरमा पत्रकार सम्मेलन गरि नेपाली कांग्रेसको विदुर नगरका मेयरका उम्मेदवार ध्रुव अधिकारीले हिंडडुल गर्ने मानवको स्वतन्त्र अधिकारलाई हनन् गरि नियन्त्रणमा लिने कार्य अशोभनिय भएको वताउनुभयो । नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले सत्यतथ्य छानविन गरिने वताउनुभयो ।