०९ साउन २०८३, शनिबार

एक लिटर दूधमा तीन रुपैयाँ अनुदान

कात्तिक २०, २०७७
एक लिटर दूधमा तीन रुपैयाँ अनुदान

मुसीकोट नगरपालिका–२ का रमेश केसीले गत वर्ष भैंसी पालनबाट २४ हजार रुपैयाँ अतिरिक्त आम्दानी गरे ।

४ नम्बर वडाका राजु ओलीको १९ हजार थप आम्दानी हुँदा १३ नम्बर वडाका नारायण खड्काले पनि १७ हजार कमाए ।

उनीहरू मात्र होइन, नगरपालिकाका दूध उत्पादक किसानले अतिरिक्त कमाइ गरिरहेका छन् । नगरपालिकाले व्यावसायिक किसानलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान दिन थालेपछि उनीहरूले अतिरिक्त आम्दानी गरिरहेका हुन् । गत आर्थिक वर्षमा सुरु भएको कार्यक्रम ६ महिना मात्र चले पनि यस वर्ष निरन्तरता दिइएको छ ।

गत वर्ष १५ जना किसानले यो अनुदान पाए । नगरपालिकाले अनुदान कार्यक्रम ल्याएपछि हौसला बढेको केसीले बताए । ‘भैंसी किन्न र भकारो सुधारमा पनि अनुदान पाइरहेका छौं,’ उनले भने, ‘दूधमा पनि अनुदान दिएपछि थप व्यावसायिक बन्न सहयोग पुगेको छ ।’

अहिलेसम्म १ लाख १५ हजार रुपैयाँ अनुदानबापत किसानलाई वितरण गरिएको नगरप्रमुख देवीलाल गौतमले जानकारी दिए । ‘व्यक्तिगत तथा सामूहिक रूपमा दूध उत्पादनमा लागेका कृषकलाई यो सुविधा दिएका छौं,’ उनले भने, ‘कार्यक्रमले किसानलाई थप व्यावसायिक बन्न सहयोग गरेको छ ।’ नगरपालिकाका अनुसार अनुदान पाउनका लागि किसानले एक वर्षमा कम्तीमा ५ सय लिटर दूध सूचीकृत डेरीमा बिक्री गरेको हुनुपर्छ ।

यो वर्ष नगरपालिकाले भैंसी प्रवर्द्धन कार्यक्रमका लागि २१ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्