०८ असार २०८३, सोमबार

असहज परिस्थितिले 'अति चर्चा’

कात्तिक २०, २०७७
असहज परिस्थितिले 'अति चर्चा’
तस्वीर सौजन्य : कान्तिपुर दैनिक

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निम्तोमा मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्न भारतका स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणे बुधबार काठमाडौं आइपुगेका हुन् ।

दुई वर्षअघि प्रधानसेनापति थापा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्न दिल्ली पुगेका थिए । सेना प्रमुखलाई एक अर्को देशमा मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने नेपाल र भारतको चलनलाई निरन्तरता दिन नरवणे आए पनि यो भ्रमण देशभित्र मात्र नभएर विदेशमा समेत चर्चाको केन्द्रमा छ ।

विगतमा औपचारिक ‘फोटो अप’ मै सीमित हुने गरेको सेना प्रमुखको भ्रमण किन यसपटक चर्चाको केन्द्रमा छ त ? पूर्व सैन्य अधिकारी तथा विश्लेषकहरू दुई देशबीच लामो समयदेखि औपचारिक संवाद नभएकाले नरवणेको भ्रमणलाई विशेष चासोका साथ हेरिएको बताउँछन् । पूर्वप्रधानसेनापति प्यारजंग थापाले दुई देशबीच ‘संवादहीनता’ रहिरहेकाले यो भ्रमणले विशेष महत्त्व पाएको बताए । ‘पहिले परम्पराको निरन्तरताका रूपमा त्यति धेरै चर्चा हुँदैनथ्यो तर यसपटक संवाद नभएको बेला भ्रमणप्रति बढी चासो राखिएको हो,’ उनले कान्तिपुरसँग भने ।

बितेको एक वर्षदेखि सीमा विवादका कारण दुई देशको राजनीतिक नेतृत्वबीच हार्दिक सम्बन्ध बन्न नसकिरहेको पृष्ठभूमिमा नरवणेको भ्रमणबाट नाकाबन्दी अन्त्य गर्न प्रयोग भएको सैन्य कूटनीति पुनः एकपटक प्रयोग हुने अपेक्षाले पनि यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको हो । गत वर्ष कात्तिक १६ मा भारतले कालापानीलगायतका भूभाग समेटेर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेयता काठमाडौं र दिल्लीबीच राजनीतिक तहमा पहिलेजस्तो हार्दिकता छैन । भारतले नयाँ नक्सा प्रकाशन गरेपछि नेपालले तीनपटकसम्म औपचारिक रूपमा ‘कूटनीतिक नोट’ पठाएर वर्षौदेखि थाँती रहेका सीमासम्बन्धी विवादमा छलफल गर्न आग्रह गरेको थियो ।

भारतले भने नेपालको उक्त आग्रहलाई बेवास्ता गर्दै कालापानी क्षेत्र भएर जाने पिथौरागढ–लिपुलेक सडकको ट्र्याक एकतर्फी ढंगले बनाईवरी वैशाख अन्तिम साता उद्घाटन गर्‍यो । यसले दुई देशको राजनीतिक नेतृत्वबीच दूरी थप बढायो । त्यसपछि नेपालले पनि लिम्पियाधुरासम्मको भूभााग समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेर संविधानसमेत संशोधन गर्‍यो ।

नेपालले सीमासम्बन्धमा संवादका लागि ढोका भने खुलै राखेको थियो । भारतले भने त्यसलाई बेवास्ता गर्दै आएको छ । भारतको राजनीतिक राजनीतिक नेतृत्वले कहिले कोरोना महामारी त कहिले अनुकूल वातावरण नभएको बहाना बनाउँदै आएको छ । जब कि उसले कोरोना महामारीकै बीच पनि नेपालबाहेक अन्य छिमेकीसँगको सम्पर्क र संवादलाई सघन पारेको छ । दिल्ली र काठमाडौंबीच कायम संवादहीनतालाई नरवणेको भ्रमणले सैन्य कूटनीतिमार्फत तोड्ने अपेक्षा गरिएकाले पनि बढी महत्त्व राखेको विश्लेषकहरूको बुझाइ छ ।

रणनीतिक मामिलाका जानकार गेजा शर्मा वाग्ले भ्रमण विशुद्ध औपचारिक र परम्पराको निरन्तरता भए पनि नरवणे आफैंले सीमा विवादका सम्बन्धमा विगतमा दिएको विवादास्पद अभिव्यक्ति, दुई देशबीच नक्सा विवादले बढेको दूरी, नरवणेले भ्रमणको पूर्वसन्ध्यामा जारी गरेको भिडियो सन्देश र भारतीय मिडियाले दिएको प्राथमिकताका कारण पनि बढी चासोका साथ हेरिएको बताउँछन् । नरवणेले मंगलबार भिडियो सन्देशमार्फत आफूले नेपाल भ्रमणलाई विशेष महत्त्व दिएको र उत्साही रहेको बताएका थिए । ‘भारतले भ्रमणमार्फत दुई देशबीचको सम्बन्धलाई सद्भावपूर्ण बनाउन प्रयास गरेको देखिन्छ, त्यसैले विगतभन्दा भिन्न किसमले यसप्रति र चासो व्यक्त गरिएको हो,’ उनले भने ।

पूर्वप्रधानसेनापति थापा भने सैन्य कूटनीतिले विगतमा पनि मुलुकको समग्र कूटनीतिलाई सघाएको हुँदा नरवणेको भ्रमणबाट त्यस्तै किसिमको सकारात्मक नतिजाको अपेक्षा हुनु स्वाभाविक भएको बताउँछन् । ‘एक किसिमले भन्दा फेरि एकपटक सैन्य कूटनीतिको परीक्षा पनि हो,’ उनले भने । उनको संकेत विगतको सफल सैन्य कूटनीति २०७२ सालको नाकाबन्दी अन्त्य गर्न नेपाली सेनाको तत्कालीन नेतृत्वले लिएको पहलतर्फ थियो । भारतले नेपालको संविधानप्रति असहमति जनाउँदै त्यति बेला नौ महिना लामो अघोषित नाकाबन्दी लगाएको थियो । उक्त नाकाबन्दी अन्त्य गर्न नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफ्ना भारतीय समकक्षीमार्फत भारतको राजनीतिक नेतृत्वसँग संवाद अगाडि बढाएका थिए ।

वाग्ले भने यो भ्रमणले काठमाडौं र दिल्लीमा चर्चा गरिएजस्तो दुई देशबीचको सम्बन्धमा ठूलै ‘ब्रेकथ्रु’ गर्ने सम्भावनालाई नकार्छन् । उनका अनुसार नरवणेको भ्रमणको म्यान्डेट सैन्य मामिलाबाहेकका विषयमा नरहेकाले सीमालगायत अन्य राजनीतिक विषयमा छलफल हुने सम्भावना न्यून छ । भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलको काठमाडौं भ्रमणको चर्चा सेलाउन नपाउँदै नरवणेको भ्रमण भएकाले पनि यसले बढी चर्चा पाएको उनको भनाइ छ । कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्