०४ साउन २०८३, सोमबार

बाइडनले जितेमा विश्व राजनीतिमा अमेरिकाको संलग्नता कस्तो हुन्छ ?

कात्तिक २०, २०७७
बाइडनले जितेमा विश्व राजनीतिमा अमेरिकाको संलग्नता कस्तो हुन्छ ?

अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम परिणामका लागि अझै केही समय कुर्नुपर्ने भएको छ । सबै मतहरू गनिसकेर विजेता घोषणा भए पनि एक पक्षले अर्कोविरुद्ध अदालतमा मुद्दा हाल्ने सम्भावना रहेकाले राष्ट्रपति घोषणा गर्न समय लाग्ने देखिएको छ । 

चुनावको परिणाम जस्तो आए पनि अमेरिका विश्व परिदृश्यबाट पछि हट्ने क्रम जारी रहनेछ । यसका लागि ऐतिहासिक पृष्ठभूमि बुझ्नुपर्ने हुन्छ । 

सन् १९९१ मा सोभियत संघको पतन भएपछि अमेरिकीहरूको एकछत्र राज संसारमा चल्यो । उनीहरूलाई चुनौती दिने कोही पनि भएन । नेपाल सहित संसारभरि लोकतन्त्रको लहर आयो । विश्वव्यापीकरणको ध्वजा उँचो हुँदै गयो । 

त्यसो त विश्वव्यापीकरणको जग नै अमेरिकाले हालेको हो । दोस्रो विश्वयुद्धको अन्त्यपछि जोसेफ स्टालिनको नेतृत्वमा रहेको सोभियत रुससँग अमेरिकाले शीतयुद्ध शुरू गर्‍यो र त्यसक्रममा आफूलाई साझेदारहरू आवश्यक पर्छन् भनी अनुभव गर्‍यो । साझेदार बनाउनका लागि अमेरिकाले गजबको प्रस्ताव गर्‍यो । संसारभरिका प्रमुख जलमार्गमा अमेरिकी जलसेनाले गश्ती गर्ने भयो । त्यसो गर्दा विश्व व्यापार सहज तरिकाले हुन पायो । 

सोभियत संघको पतनपछि अब अमेरिकालाई साझेदार बनाउनुपर्ने बाध्यता छैन । विश्वव्यापीकरणका कारण संसारका विभिन्न देशले लोभलाग्दो प्रगति गरेका छन् । चीन अहिले अमेरिकासँग जोरी खोजिरहेको भए पनि उसको आर्थिक उन्नतिका लागि अमेरिकी नेतृत्वको विश्वव्यापीकरण र अमेरिकी बजारमा पहुँच नै जिम्मेवार छ । 

त्यसैले अमेरिकीहरूलाई विश्व मामिलामा रुचि घट्दै गएको छ । सेप्टेम्बर ११ को आक्रमणपछि जर्ज डब्ल्यू बुश प्रशासनले अमेरिकालाई पश्चिम एसियाका अन्त्यहीन युद्धमा फसाएपछि त झन् अमेरिकीहरूलाई बाह्य मामिलाप्रति वितृष्णा जाग्दै आएको छ । 

उनीहरूले बाह्य मामिलामा रुचि नराख्ने व्यक्तिलाई राष्ट्रपति बनाउन थालेका छन् । सन् २००८ मा रिपब्लिकन पार्टीले भियतनाम युद्ध लडेका तथा अमेरिकालाई बाह्य मामिलामा अल्झाउन खोेज्ने जोन मककेनलाई उठायो तर बाराक ओबामाले हराइदिए । ओबामाले इराक र अफगानिस्तानका युद्धबाट अमेरिकालाई झिक्ने प्रतिबद्धता व्यक्त गर्दै चुनाव जितेका थिए । 

त्यसो त ओबामाले पनि लिबियामा नयाँ युद्ध शुरू गरे भलै त्यसले बुशको जस्तो गरी अमेरिकालाई (इराक र सिरियामा जस्तो) फसाउने काम गरेन ।

त्यसैले गर्दा सन् २०१६ मा अमेरिकीहरूले देशलाई बाहिरका मामिलाबाट पूरै पन्छाउन चाहने डोनल्ड ट्रम्पलाई राष्ट्रपति बनाएका हुन् । ट्रम्प पुनर्निर्वाचित भए भने अमेरिकाले बाहिर ध्यान दिने कुरा पूरै रोक्छ तर बाइडनले पनि अहिलेको यो प्रवृत्तिमा तात्त्विक फेरबदल ल्याउन सक्दैनन् । 
 

बाइडनको परराष्ट्रनीतिको दस्तावेज हेर्दा आर्थिक राष्ट्रवादलाई नै जोड दिइरहेको देखिन्छ । अनि ट्रम्प प्रशासन जस्तै उनी पनि चीनप्रति कठोर देखिन्छन् । अर्थात्, चीनले अमेरिकी बजारबाट फाइदा लिने अनि आफ्नो बजार चाहिँ अमेरिकीहरूका लागि खुला नराख्ने रणनीति अपनाइरहन अब पाउँदैन । 

अनि संसारका विभिन्न भागबाट अमेरिकी सैनिकहरू घटाउने र फिर्ता बोलाउने प्रवृत्तिलाई पनि बाइडनले रोक्न सक्दैनन् । बाइडनले अमेरिकालाई सैन्य रूपमा अन्यत्र देशमा संलग्न नगराउने तर सफ्ट पावरमा अमेरिकाको नेतृत्व कायम गर्ने बताएका छन् । 

उनलाई त्यही गर्न पनि गाह्रो पर्छ किनकि देशकै समस्या समाधान नगरी बाहिरका कुरामा ध्यान दिएको अमेरिकीहरूले रुचाउने छैनन् । त्यसो त बाइडनले स्पष्ट रूपमा अमेरिकी समस्या समाधानमा आफ्नो जोड रहने बताउँदै आएका छन् ।

ट्रम्पको शासनमा अमेरिकाले विश्वसनीयता गुमाएको भनी चर्चा गरिन्छ तर अमेरिकीहरूलाई विश्वसनीयताको कुनै चिन्ता छैन । 

अमेरिकाको भूराजनीति र भूअवस्थिति निकै उम्दा हुनाले अन्य देशको विश्वास आर्जन गर्नु र नगर्नुले उसलाई कुनै फरक पार्दैन । त्यस्तो फरक पर्ने भए उनीहरू आफ्ना साझेदारलाई बेवास्ता गर्ने वा अपमान गर्ने कामै गर्दैनथिए । 

अमेरिकी अर्थतन्त्रको ठूलो हिस्सा व्यापारमा निर्भर छ र त्यस व्यापारको लगभग आधा भाग उत्तर र मध्य अमेरिकामै हुने गर्छ । त्यसैले अमेरिकालाई अर्थोपार्जनका लागि अमेरिकी महादेशबाट धेरै टाढा गइरहनुपर्ने आवश्यकता नै छैन । 

अनि अमेरिका अहिले ऊर्जामा आत्मनिर्भर बनिसकेको छ । फ्य्राकिङमार्फत शेल नामक तेल अमेरिकाले सस्तोमा उत्पादन गर्न सकेकाले पश्चिम एसियाका तेलको मतलब उसलाई छैन । 

अमेरिकाको सबभन्दा ठूलो पूँजी भनेको त्यहाँको युवा जनसंख्या हो । युवा जनसंख्या श्रमको क्षेत्रमा पनि भारी योगदान गर्छ र राम्रो उपभोक्ता पनि हो । आफ्नो देशको उत्पादन आफ्नै देशमा खपत हुने सुविधा यही वर्गका कारण अमेरिकाले पाएको छ । त्यसैले अन्य देशहरूसँगको आर्थिक सम्बन्ध अमेरिकाको स्वेच्छाको कुरा हो । 

अमेरिकाको दक्षिणपन्थी धार र वामपन्थी दुवै धारले विदेशका मामिलामा अमेरिकालाई संलग्न गराउन नचाहेको स्थिति देखिएकाले क्षेत्रीय शक्तिहरू जुर्मुराउने अवश्यम्भावी छ । चीन र टर्कीको बढ्दो आक्रामकतालाई यसै नजरले हेर्नुपर्ने हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्