०९ साउन २०८३, शनिबार

अमेरिकाका गाउँले मतदाताले पत्याए ट्रम्पलाई, कहाँ चुके जो बाइडन ?

कात्तिक २०, २०७७
अमेरिकाका गाउँले मतदाताले पत्याए ट्रम्पलाई, कहाँ चुके जो बाइडन ?

अमेरिकाको निर्वाचनमा कस्ता मानिसले कसलाई भोट दिन्छन् भन्ने कुरा लगभग स्पष्ट हुन्छ । गोराहरूले प्रायः अन्य जातिकाले भन्दा बढी नै रिपब्लिकन पार्टीलाई भोट दिन्छन् । 

अनि महिलाले पुरुषभन्दा बढी डेमोक्रेटिक पार्टीलाई भोट दिन्छन् । 

तर यसपालिको चुनावमा रिपब्लिकन पार्टीले काला जातिका र ल्याटिनो समुदायका मानिसको पनि भोट प्राप्त गरेका छन् । 

शिक्षित गोराहरूले डेमोक्रेटिक पार्टीलाई अनि कलेज डिग्री नभएका गोराहरूले रिपब्लिकनलाई भोट दिने परम्परा यसपालि पनि कायम रह्यो । 

अघिल्लो निर्वाचनमा गाउँ र शहरको मतप्रतिशतले सबैलाई आश्चर्यमा पारेको थियो । त्यसो त शहरी मतदाताहरूले डेमोक्रेटिक पार्टीलाई अनि गाउँले मतदाताहरूले रिपब्लिकन पार्टीलाई मत दिने गरेकै हुन् तर अघिल्लो

निर्वाचनमा गाउँलेहरूले रिपब्लिकन ट्रम्पलाई जिताउनका लागि अत्यधिक संख्यामा भोट दिए । 

सन् २००८ देखि अहिलेसम्मका चुनावमा रिपब्लिकनहरूको शहरी भोटको शेयरमा खासै परिवर्तन भएको छैन भने डेमोक्रेटहरूको शेयर घटेको छ । 

अमेरिकाका गाउँले मतदाताहरूले यसपालि पनि ट्रम्पलाई नै पत्याएकाले जो बाइडनले निर्णायक विजय प्राप्त गर्न नसकेका हुन् । बाइडनले गाउँले मत पाएको भए देशलाई पुनः एकताबद्ध बनाउन सकेको भनी दाबी गर्न पाउँथे अनि डेमोक्रेटिक पार्टीले अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि बहुमत ल्याउँथ्यो । 
 

मिडवेस्ट क्षेत्रको परिणाम हेर्दा अमेरिका पूरै विभाजित भएको देखिन्छ । बाराक ओबामालाई दुईपटक जिताएको आयोवा राज्यले ट्रम्पलाई लगातार दुईपटक राज्यमा जीत दिलाएको छ । अनि डेमोक्रेटहरूले लक्षित गरेको महत्त्वपूर्ण सिनेट सीट पनि रिपब्लिकनहरूले गुमाएनन् ।
 

आयोवा र मिसौरीमा रहेका गाउँले काउन्टीहरूमा ट्रम्पको समर्थन कायम रह्यो र अझै बढ्यो । केही राज्यहरूमा ट्रम्प गाउँलेकै मतका आधारमा विजयी भए । विस्कोन्सिन जस्ता राज्यमा बाइडनले शहरी मत व्यापक पाएपछि मात्र जितेका हुन् । 

चार वर्षअघि डेमोक्रेटहरूबाट ट्रम्पले हत्याएका गाउँले काउन्टीहरूमा उनी नै झन् बलियो बनेको देखियो । विभिन्न मतसर्वेक्षणहरूले मतदाताहरूको प्राथमिक चासो कोरोनाभाइरसबाट अर्थतन्त्रतर्फ सरेको र यसले गर्दा स्वतन्त्र मतदाताहरूले अर्थतन्त्र खोल्नुपर्ने भनी तर्क गर्ने ट्रम्पलाई पत्याएको देखिन्छ । 

गाउँले मतदाताहरूले आर्थिक संकटको दोष ट्रम्पलाई दिएनन् । ह्वाइट हाउसमा अर्को व्यक्ति भएको भए पनि कोरोनाका कारण आर्थिक संकट आउने नै थियो भन्ने उनीहरूको मत रह्यो । मिडवेस्टको ग्रामीण क्षेत्रमा ट्रम्पले लकडाउनका कारण आर्थिक क्षति पुगेको भनी गरेको तर्कलाई मतदाताले रुचाएको पाइएको छ । 

ग्रामीण क्षेत्रमा रिपब्लिकनहरूले नौ अंकको फाइदा लिए भने डेमोक्रेटहरूलाई ११ अंकको घाटा लाग्यो । 

यसरी गाउँलेहरूले ट्रम्पलाई समर्थन कायम राख्नुमा जानसांख्यिक कारण पनि छ । गाउँले अमेरिकीहरू शहरीको तुलनामा गोरा अनि कलेज डिग्री नभएका हुने सम्भावना बढी छ । गोरोपन र कलेज शिक्षाको अभाव दुवै ट्रम्पको पक्षमा जान्छ । 

अनि गाउँलेहरूमा रहेको आक्रोशले पनि ट्रम्पको समर्थन बढाएको देखिन्छ । सन् २०१६ र २०२० दुवै निर्वाचनमा गाउँलेहरूको आक्रोश जारी छ । 

आफूहरूलाई कसैले पनि वास्ता नगरेको र अर्थतन्त्रले पनि आफूलाई नसमेटेको गुनासो उनीहरू गरिरहेका छन् । ट्रम्पले आफूहरूलाई ध्यान दिएको, पीरमर्का बुझ्ने कोशिश गरेको धारणा उनीहरू राख्छन् । 
 

डेमोक्रेटहरूले गाउँले मतदाताको यो गुनासोलाई बुझ्ने र सम्बोधन गर्ने कोशिश नगरेकाले यसपालि पनि मतदाताहरूले उनीहरूलाई नपत्याएको देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्