१२ असार २०८३, शुक्रबार

कोरोनाको उपचारमा पैसा लिँदा ओली सरकारलाई धक्का, सर्वाेच्चले दिएन अनुमति

कात्तिक २०, २०७७
कोरोनाको उपचारमा पैसा लिँदा ओली सरकारलाई धक्का, सर्वाेच्चले दिएन अनुमति

कोरोना भाइरस संक्रमणको महामारीका बेला पीसीआर परीक्षण र उपचारमा शुल्क लिने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयमा ठूलो धक्का लागेको छ ।

सर्वाेच्च अदालतले यसअघि नै शुल्क लिने निर्णयलाई गलत साबित गर्दै कोरोनाको परीक्षण र उपचार निःशुल्क हुनुपर्ने फैसला गरिसकेको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वाेच्च अदालतको फैसला संविधान र कानून विपरीत भएको भन्दै सर्वाेच्च अदालतमा फैसलाउपर पुनरावलोकनका लागि अनुमति माग गर्दै निवेदन दिएको थियो ।

सर्वाेच्च अदालतको बुधवारको पूर्ण इजलाशले कोरोनाको उपचार निःशुल्क हुने यसअघिको फैसला कानूनसम्मत नै भएको ठहर गर्दै पुनरावलोकनका लागि ‘अनुमति नहुने’ फैसला गरेको छ । यससँगै उपचारको शुल्क लिन नपाइने सर्वाेच्चको फैसलालाई खारेज गराउने सरकारी प्रयास असफल भएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की, सपनाप्रधान मल्ल र पुरुषोत्तम भण्डारीले पूर्ण इजलाशले फैसला पुनरावलोकनका लागि अनुमति नहुने फैसला गरेको हो ।

कोरोनाको परीक्षण र उपचारमा नलिन सर्वाेच्च अदालतले सुनाएको परमादेश विपरीत सरकारले शुल्क लिने निर्णय र निर्देशन जारी गरिरहेको छ । यसले सर्वाेच्च अदालतको अवहेलना भएको भन्दै सर्वाेच्च अदालतमा सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा समेत परेको छ । अदालतको अवहेलना मुद्दा परेपछि सरकारले परमादेश पुनरावलोकनको अनुमति माग्न निवेदन दिएको थियो ।

कोरोनाको उपचार निःशुल्क हुनुपर्ने मागसहित सर्वाेच्च अदालतमा निवेदन दिएका अधिवक्ता लोकेन्द्र ओलीले भने, ‘अब कोभिड १९ को सबै उपचार निःशुल्क हुने भयो । सर्वाेच्चको परमादेश नै अन्तिम भयो । उपचारमा शुल्क लिने सबै कानूनी ढोका सधैका लागि बन्द भए ।’ अदालतको अवहेलना मुद्दा भने विचाराधीन रहेको छ ।

सरकारले कोरोनाको पीसीआर परीक्षण र उपचारका शुल्क लिने निर्णय गर्दै देशभर निर्देशन दिइसकेको छ । मन्त्रिपरिषद्को निर्णय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार सरकारी अस्पतालले समेत कोरोनाको उपचारमा शुल्क लिन थालिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्