११ असार २०८३, बिहीबार

राष्ट्रपति निर्वाचनको अन्तिम परिणाममा ढिलाइ हुने, ट्रम्प मुद्दा हाल्न हतारिँदै

कात्तिक २०, २०७७
राष्ट्रपति निर्वाचनको अन्तिम परिणाममा ढिलाइ हुने, ट्रम्प मुद्दा हाल्न हतारिँदै

अमेरिकाको भावी राष्ट्रपति को बन्ला भनी अझैसम्म पनि टुंगो लाग्न सकेको छैन । तर जर्जिया, एरिजोना र पेन्सिल्भेनिया जस्ता महत्त्वपूर्ण राज्यमा प्रतिस्पर्धा झन् झन् कडा हुँदै गएको छ । 

यी राज्यहरूमा मतपत्र गन्ने काम जारी छ । निर्वाचन अधिकारीहरूले भरेतिर मात्र अप्डेट दिनेछन् । 
 

बाइडनले मिशिगन र विस्कोन्सिन जस्ता महत्त्वपूर्ण राज्य जितेका छन् । ती राज्यमा परम्परागत रूपमा डेमोक्रेटकहरूको पकड थियो तर सन् २०१६ को निर्वाचनमा डोनल्ड ट्रम्पले डेमोक्रेटहरूबाट त्यसलाई हत्याएका थिए । अहिले ती फेरि डेमोक्रेटकहाँ पुगेका छन् । 
 

नेभादामा पनि मतगणना जारी छ । त्यहाँका निर्वाचन अधिकारीहरूले बुधवार एकदमै कम सूचना उपलब्ध गराएका थिए र पछिल्लो परिणाम बिहीवार मध्यरातसम्म आउन सक्नेछ । 

अहिलेको स्थितिमा ७५ प्रतिशत मत गनिएको छ र बाइडनले ४९.३ प्रतिशत मत पाएका छन् । ट्रम्प ४८.७ प्रतिशतका साथ पछिपछि छन् ।

यसबीच महत्त्वपूर्ण राज्य पेन्सिल्भेनियामा हुलाकबाट प्राप्त मतपत्र तथा एब्सेन्टी भोटहरू धमाधम गन्ने काम भइरहेको छ । त्यहाँ ट्रम्पले अग्रता लिइरहेको भए पनि हुलाकको मतपत्र गन्दा बाइडनले ट्रम्पलाई उछिन्न सक्ने देखिएको छ । हुलाकमार्फत आएका यस्ता मतपत्र डेमोक्रेटहरूको बाहुल्य रहेको फिलाडेल्फियाबाट आएको हो । 
 

पेन्सिल्भेनियामा ताजा अवस्थामा ८९ प्रतिशत मतगणना भइसकेको छ र ट्रम्पको ५०.७ प्रतिशत मत देखिएको छ भने बाइडनको ४८.१ प्रतिशत मत देखिएको छ ।

उता जर्जियामा पनि प्रतिस्पर्धा कडा हुँदै गएको छ । ट्रम्पले त्यहाँ अग्रता गुमाउँदै गएका छन् । अहिलेसम्म ९८ प्रतिशत मतको गणना भइसक्दा ट्रम्पको ४९.६ प्रतिशत छ भने बाइडनको ४९.२ प्रतिशत मत छ ।
 

एरिजोना राज्यको मतगणनाले अनौठो परिणाम ल्याइरहेको छ । त्यहाँ हिजै एसोसिएटेड प्रेस र फक्स न्युजले बाइडन विजयी हुने भविष्यवाणी गरेका थिए तर हुलाकबाट प्राप्त मतपत्र र एब्सेन्टी ब्यालोट गन्दा ट्रम्पले बाइडनलाई कडा टक्कर दिइरहेको देखिएको छ । 
 

मारिकोपा काउन्टीमा बाइडनको अग्रता घटेको देखिएको छ । तर अझै लगभग पाँच लाख मतपत्र गन्न बाँकी रहेकाले त्यहाँको अन्तिम परिणाम आउन केही दिन लाग्ने देखिएको छ । 
 

एसोसिएटेड प्रेसको प्रक्षेपणअनुसार, बाइडनले २६४ इलेक्टोरल भोट ल्याइसकेका छन् भने ट्रम्पले २१४ मत पाएका छन् । विजयी हुनका लागि २७० भोट ल्याउनुपर्ने हुन्छ । 

ट्रम्प पक्षधरले मतगणना रोक्नका लागि अदालतमा मुद्दा दायर गरेको छ र बाइडन पक्ष पनि कानूनी लडाइँका लागि तयार छ । त्यसैले अमेरिकाको भावी राष्ट्रपतिको टुंगो लाग्न अझै केही दिन वा हप्ता लाग्न सक्ने देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्