
बन्दाबन्दी खुलेपनि होटल र विद्यालयहरु बन्द हुँदा दैनिक ७० प्रतिशतसम्म मात्र दूध तथा दुग्धजन्य वस्तुको खपत भएको छ । बन्दाबन्दी खुल्ला भएर विस्तार सहज भए पनि अझैँ ३० प्रतिशत खपतमा कमी आएको डेरी सञ्चालकहरु बताउँछन् ।
कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण दैनिक रु दश करोडसम्म नोक्सानी भएको नेपाल डेरी एसोसिएसनले जनाएको छ । एसोसिएसनका महासचिव प्रल्हाद दाहालका अनुसार बन्दाबन्दी खुलेर विस्तार बजारमा चहलपहल हुँदा खपतमा वृद्धि भएको छ ।
उनका अनुसार अझैँ दूध र दुग्धजन्य वस्तुको खपत बढी हुने शहर बजार क्षेत्रमा बस्दै आएका अधिकांश नागरिकहरु गाउँमा नै रहदा खपतमा कमी आएको छ । दशैँ तथा तिहारको समय खपतमा कमी नै आउने समय भएको भन्दै गत वर्ष सोही अवधिमा ८० प्रतिशतसम्म खपत हुने गरेकोमा धेरै नोक्सानी भएको उनले बताए ।
उनका अनुसार बन्दाबन्दीको समयमा दूधको खपत कम हुँदा स्कट रहेका सामग्रीहरु विस्तारै खपत भएको छ । रु पाँच अर्ब बढीको स्टक सामग्री हुँदा स्टोर क्षमता समेत नभएको अवस्थामा हाल रु एक अर्ब बराबरको सामग्री रहेको छ ।
बन्दाबन्दीपछि दैनिक संकलन हुँदै आएको दुधमा समेत कमी आएको छ । दैनिक ३० प्रतिशत दुध संकलनमा कमी आएको छ । उहाँका अनुसार बन्दाबन्दी अघि दैनिक ३१ हजार लिटर दुध संकलन हुँदै आएको थियो ।
यसैबीच, बन्दाबन्दीका समयमा दैनिक रु दश करोडसम्म नोक्सानी व्यहोरेका डेरी सञ्चालकले कर्जा सुविधा पाएपछि सहज भएको बताएका छन् ।