
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको शक्ति संघर्ष उत्कर्षमा पुगेपछि आगामी रणनीतिमा व्यस्त छन् ।
बिहीवार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको सरकारी निवास बालुवाटारमा भएको दुवै अध्यक्षको भेटघाटले परिस्थितिलाई झन् बढी तिक्ततामा परिणत गरेको थियो ।
बालुवाटार स्रोतका अनुसार ओलीले प्रचण्डलाई कार्यकारी अधिकार दिएको एक वर्षसम्म पनि पार्टीको काममा सिन्को नभाँचेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । ओलीले भनेका थिए, 'तपाई गुटबन्दीमा मात्र लागेर हिंड्ने, एक वर्ष भयो पार्टीको कार्यकारी बनेको, खै कुनै सिन्को भाँचिएको छ ?'
जवाफमा प्रचण्डले गुटबन्दी गर्ने काम ओलीबाट नै भएको भन्दै आफूलाई काम गर्न नदिइएको गुनासो गरे । प्रचण्डले प्रदेश १ का पार्टी कार्यकर्ताहरूलाई मदन भण्डारी फाउन्डेसनका नाममा गतिविधि गर्न उक्साएर ओलीले नै अलग पार्टीको अभ्यास गर्न उक्साएको आरोप लगाए ।
ओलीसँगको भेटघाटले अझ बढी तिक्तता सिर्जना गरेपछि प्रचण्ड बालुवाटार आएर वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, दिनानाथ शर्मा लगायतका नेताहरूसँग खुमलटारमा छलफल गरे ।
छलफलमा प्रचण्डले ओलीले बैठक बोलाउन नचाहेको भन्दै ब्रिफिङ गरे । 'अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीले बैठक नै बोलाउन नचाहेको जानकारी हामीलाई दिनुभयो,' छलफलमा उपस्थित राष्ट्रिय सभा सदस्यसमेत रहेका दिनानाथ शर्माले लोकान्तरलाई भने, 'फेरि पनि हामीले अध्यक्षहरू बीच संवादहीनताको स्थिति पैदा गर्नुहुन्न भनेर सुझाव दिएका छौं ।'
बिहीवार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई परिस्थिति गम्भीर बनेको ब्रिफिङ गरेका थिए । 'सरकारका विरुद्ध कहिले कहाँ, कहिले कहाँ षड्यन्त्रका तानाबाना बुनिएको छ,' ओलीको भनाइ उदृत गर्दै श्रममन्त्री रामेश्वर राय यादवले लोकान्तरसँग भने, 'त्यो षड्यन्त्रलाई परास्त गर्छु मैले ।'
उता मन्त्रिपरिषद बैठक बस्दा यता पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य रघुजी पन्त लगायतका नेताहरूले बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत केही वकिलहरूसँग छलफल गरेका थिए ।
छलफलमा न्यायपरिषदमा नियुक्त हुने एक सदस्यका बारेमा कुराकानी भएको प्रवक्ता श्रेष्ठले लोकान्तरलाई बताए । तर बालुवाटार भने न्यायपरिषदको बारेमा मात्र नभएर पार्टीको अन्तरसंघर्षका बारेमा समेत सल्लाह परामर्श लिएको दाबी गर्छ ।
अध्यक्षद्वयबीच तिक्तता बढेको आभास पाएपछि दोस्रो पुस्ताका नेताहरू छलफल र भेटघाटमा जुटेका छन् । संसदीय दलका उपनेता समेत रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ शुक्रवार बिहानै अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे ।
उनले पार्टी एकतालाई अखण्ड राख्न संवादबाहेक अन्य कुनै विकल्प नरहेको भन्दै अध्यक्षद्वयबीच पुनः संवाद हुनुपर्ने अडान राखे ।
जवाफमा प्रचण्डले शुक्रवार अपराह्न ३ बजे सचिवालय सदस्यहरूलाई पार्टी कार्यालय धुम्बाराही बोलाइएको र त्यसपछि ओलीसँग पुनः संवाद हुने आश्वासन दिएका थिए ।
शुक्रवार ३ बजे धुम्बाराहीमा सचिवालयका सबै सदस्यहरूलाई प्रचण्डले आमन्त्रण गरेका छन् । प्रचण्डले ओली र आफूबीच भएको कुराकानीको ब्रिफिङ गर्ने नेताहरूले बताएका छन् ।