
महिला आयोगको नमुना मतदानकाठमाडौँ, २९ वैशाख –राष्ट्रिय महिला आयोगले स्थानीय तह निर्वाचनमा खटाउने अनुगमनकर्तालाई आज नमुना मतदान गराएको छ ।
निर्वाचनमा हुने जनसहभागितालाई आवश्यक परेमा मतपत्र तथा मतदानका प्रक्रिया बुझाउने उद्देश्यले महिला आयोगको परिसरमा आज नमुना मतदान भएको हो ।
आयोगले निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउने उद्देश्यले ३४ जिल्लामा ३५१ अनुगमनकर्तालाई परिचयपत्र उपलब्ध गराएको छ । यसअघि ‘स्थानीय तह निर्वाचन लैङ्गिक अनुगमन समिति’ समेत स्थापना गरिएको थियो । निर्वाचन आयोगको निर्देशनमा स्थापना गरिएको सो समितिले स्थानीय तह निर्वाचनमा लैङ्गिक विभेद भए÷नभएको समेत अनुगमन गर्नेछ ।
आयोगका कर्मचारी तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिलाई प्रशिक्षण दिई पहिलो चरणमा हुने ३४ जिल्लाको निर्वाचनमा अनुगमनकर्ताबाट गरिने स्थलगत सर्भेक्षणका आधारमा बनाइने प्रतिवेदनमा निर्वाचनमा देखिएका त्रुटि तथा कमजोरीलाई समेटिनेछ । सो प्रतिवेदनमा केही सुझाव थप गरी निर्वाचन आयोगलाई पठाइने महिला आयोगका उपसचिव यमेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।
करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा लैङ्गिक हिंसा भए/नभएको समेत अनुगमन गरिनेछ । अनुगमन गर्न जाने सङ्घसंस्थाका प्रतिनिधिले मतदान गर्ने केन्द्रमा अनुगमन गर्न पाउने छैनन् । आजको नमुना मतदानमा सहभागी भएका ती अनुगमनकर्ताले आवश्यक भएमा निर्वाचन पूर्व मतदातालाई निष्पक्षताका साथ मतदानका बारेमा बुझाउन निर्देशन दिइएको छ ।