
काठमाडौं, २९ वैशाख – निर्वाचन आयोगले आफूहरू निर्वाचनको अन्तिम तयारीमा रहेको जनाएको छ । पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको छ । तीन वटा प्रदेशमा सबै उम्मेदवारहरुको सङ्ख्या ४९ हजार ३३७ रहेको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दुई सय ८३ वटै स्थानीय तहका ६ हजार ६ सय ४२ मतदान केन्द्रमा निर्वाचनको टोली र सुरक्षाकर्मीको टोली पुगेको जानकारी दिए । उनका अनुसार ६ हजार ६ सय ४२ निर्वाचन अधिकृत सहितको निर्वाचन टोली र सुरक्षाकर्मीको टोली सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको छ ।
उनले सम्बन्धित ठाउँमा पुगेको टोलीले काम पनि सुरु गरिसकेको बताए । टोली सम्पूर्ण निर्वाचन सामग्री लिएर गएको छ । निर्वाचनको अन्तिम तयारी सहित गाउँ गाउँमा मतदाता शिक्षा समेत भइरहेको उनले बताए ।
उनका अनुसार मतदान केन्द्रको निर्माण, सर्वदलिय बैठक, मतदान केन्द्रको सिमाना, निषेधित क्षेत्र, उम्मेदवारका प्रतिनिधि लगायतका विषयमा छलफल भइरहेको र टुंग्याउने काम पनि भइरहेको छ ।
‘निर्वाचनको माहोल निकै राम्रो छ, टोली पूर्ण सुरक्षा सहित निर्वाचनमा गएको छ,’ उनले भने, ‘अब मतदान हुन मात्रै बाँकी छ भन्दा फरक पर्दैन ।’ उनका अनुसार निर्वाचनको क्रममा जनपथ प्रहरी र म्यादी प्रहरीको टोली मतदान केन्द्रमै हुने छ ।
त्यसको बाहिरि घेरामा सशस्त्र प्रहरी हुने छ भने सशस्त्र भन्दा बाहिर नेपाली सेनाको टोली हुने छ । नेपाली सेनाको उपस्थितिलाई सामान्य अवस्थामा अनुभव समेत गर्न सकिने छैन ।
उनले गाउँमा पुगेको टोलीले ४० प्रतिशत मतदाता परिचयपत्र बाँडिसकेको समेत बताए । ‘भोलि सम्ममा सबै मतदाता परिचयपत्र पनि बाँडेर सकिन्छ,’ उनले भने, ‘मतदाता परिचय पत्र नलगेका र लगेर पनि हराएका, च्यातेकाहरुको लागि भोलि नै केही निर्णय हुन्छ ।’ सम्भवत आयोगले नागरिकता वा मतदाता सूचीमा नाम भएको आधारमा भोट हाल्न पाउने प्रावधानको व्यवस्था गर्ने छ ।
उनले अहिले सम्म तीन वटै प्रदेशमा सुरक्षाको अवस्था राम्रो भएको बताए । उनका अनुसार निर्वाचन आचार संहिताको पालना पनि राम्रै भएको छ । ‘आचार संहिताको पालना सन्तोषजनक मान्ने अवस्था छ,’ उनले भने, ‘यसमा पनि अझै केही न केही त सुधार गर्न सकिन्छ ।’ उनका अनुसार उम्मेदवार तथा दलहरुलाई कारबाही नै गर्नुपर्ने गरेर गुनासा आएका छैनन् । तर उनीहरुलाई सचेत गराउने खालका गुनासाहरु चाहिँ आयोगमा प्राप्त भएका थिए ।
आयोगका अनुसार उम्मेदवारमा पुरुषको सङ्ख्या ३० हजार ५ र महिलाको संख्या १९ हजार ३३२ कायम भएकोछ । प्रतिशतको हिसाबले जम्मा उम्मेदवारमध्ये पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत रहेका छन् ।
नगरप्रमुख तथा अध्यक्षमा पुरुष ९१.६५ प्रतिशत (१७२३) र महिला ८.३५ प्रतिशत (१५७), नगरउपप्रमुख तथा उपाध्यक्षमा पुरुष १८.५७ प्रतिशत (२५७), महिला ८१.४३ प्रतिशत (११२७) वडाध्यक्षमा पुरुष ९५.८३ प्रतिशत (१०२९६) महिला ४.१७ प्रतिशत (४४८) जना रहेका छन् । यसैगरी, वडा सदस्य २ जनाका लागि पुरुष ९४.७१ प्रतिशत (१७७२९) महिला ५.२९ प्रतिशत (९५१), महिला वडा सदस्य ९०८३, दलित महिला वडा सदस्यमा ७५२६ जनाको उम्मेदवारी कायम रहेको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष मध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेको छ ।