
मुलुकका एक जना नाम चलेका स्वास्थ्यविज्ञले भने, ‘कोभिड–१९ को प्रोफलेक्सिस (रोग निरोधी) औषधिका रूपमा मैले आइबरमेक्टिनको दोस्रो मात्रा लिइसकेको छु ।’
आइबरमेक्टिन परजीवीविरुद्घको औषधि हो । आन्द्राको परजीवी र लुतोविरुद्घ यसको व्यापक रूपमा प्रयोग गरिन्छ । भारतले हालै कोभिडविरुद्घ प्रोफलेक्सिसका रूपमा यो औषधिको प्रयोग बन्द गरे पनि नेपालमा यसको प्रयोग भइरहेको छ ।
स्वास्थ्यकर्मी सधैं कोभिडको जोखिममा हुने भएकाले प्रोफलेक्सिसका रूपमा एन्टिपाइरासेटिक औषधि आइबरमेक्टिनको पहिलो मात्रा लिएको एक सातापछि दोस्रो मात्रा लिएको र तेस्रो मात्रा ३० औं दिनमा लिने ती स्वास्थ्यविज्ञले बताए । ‘भारतका थुप्रै राज्यहरूमा कोभिड लाग्न नदिन स्वास्थ्यकर्मीहरूले आइबरमेक्टिन औषधि खाइसके, खाइरहेका छन्,’ उनले भने, ‘अहिले नेपालमा पनि अनियन्त्रित रूपले आइबरमेक्टिन औषधि उपयोग भइरहेकाले सरकारले प्रोटोकल बनाउनु अत्यावश्यक छ । राजधानीका निजी क्षेत्रका ठूला अस्पतालमा यसको व्यापक प्रयोग हुने गरेको छ ।’
फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरूमा संक्रमणको दर उच्च हुने भएकाले प्रोफलेक्सिस औषधिका रूपमा केही अस्पतालले ‘आइबरमेक्टिन’ को उपयोग गरिरहेका छन् । भारत उत्तर प्रदेश सरकारले कोभिड बिरामीको सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरूलाई प्रोफलेक्सिसका रूपमा आइबरमेक्टिन औषधि दिने निर्णय गरेको थियो तर पछिल्लो समय भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइबरमेक्टिनको उपयोग बन्द गरेको छ । ‘हो मुलुकमा कोभिडका लागि आइबरमेक्टिन उपयोग भइरहेको छ, केही चिकित्सकले यो औषधि प्रस्तावसमेत गरिरहेका छन्,’ वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानी भन्छन्, ‘यो औषधिको केही एन्टिभाइरल प्रमाण भए पनि हालसम्म यसले कोभिडविरुद्घ काम गर्ने कुनै वैज्ञानिक प्रमाण छैन ।’
आफूले करिब २५० जनाभन्दा बढी कोभिड बिरामीको उपचार गरे पनि हालसम्म एक जनालाई पनि आइबरमेक्टिन औषधि नदिँदा सबैजसोको परिणाम सकारात्मक नै देखिएको औंल्याउँदै डा. चोखानीले भने, ‘वैज्ञानिक अनुसन्धानले पुष्टि नगरेसम्म म यसको उपयोग गर्नमा विश्वास राख्दिनँ । आइबरमेक्टिन नदिए पनि बिरामी निको भइरहेका छन् ।’ ‘मेरो टिमले प्रोफलेक्सिसका रूपमा यो औषधि खाएको छैन,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले भने, ‘नेपालमा समेत कसै–कसैले खाए । बंगलादेश, भारततिर यो औषधि चलेको हो ।’ वरिष्ठ फर्मासिस्ट एवं औषधि परामर्श परिषद्का सदस्य बाबुराम हुमागाईं भन्छन्, ‘मैले पनि मुलुकमा प्रोफलेक्सिसका रूपमा जुका र लुतोको औषधि आइबरमेक्टिन उपयोग गरेको देखेको र सुनेको पनि छु ।’
हाल विश्वमा कुनै पनि सिफारिस गरिएको औषधि कोभिड ‘स्पेसफिक’ नरहेकाले भ्रममा नलाग्न औंल्याउँदै हुमागाईं भन्छन्, ‘तत्कालका लागि विश्व स्वास्थ्य संगठनको सिफारिसलाई आधार मान्नुपर्छ र कोभिडका लागि
प्रोटोकोलबाहिरको औषधि सिफारिस गर्नु हुँदैन ।’ स्वास्थ्य मन्त्रालयले आइबरमेक्टिनको कोभिडसँग सम्बन्धित प्रयोगबारे हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक नगरेको जनाउँदै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, ‘यो लुतोलगायत रोगको उपचारमा प्रयोग भएको औषधि हो । कोभिडको प्रोफलेक्सिसका रूपमा यसलाई प्रस्ताव गरिएको छैन ।’
कोभिडबाट जोगाउन आइबरमेक्टिन प्रयोगको लहर भारतका उत्तर प्रदेश, विहारलगायत ठाउँबाट आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले बताए । ‘मलाई पनि चिकित्सकहरूले नै उपयोग गर्ने सल्लाह दिएका थिए,’ उनले भने, ‘तर वैज्ञानिक प्रमाणबिना लहैलहैमा लागेर औषधिको उपयोग नगर्नुस् ।’ करिब दुई साताअघि भारतको स्वास्थ्य मन्त्रालयले कोभिड उपचारको राष्ट्रिय चिकित्सक प्रबन्ध प्रोटोकलमा आइबरमेक्टिनलाई सामेल नगर्ने निर्णय गरेको थियो । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।