२२ जेठ २०८३, शुक्रबार

मानहुँकोटमा अब दैनिक ३०० पर्यटकलाई मात्र प्रवेश

कात्तिक २४, २०७७
मानहुँकोटमा अब दैनिक ३०० पर्यटकलाई मात्र प्रवेश

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा एक्कासी आन्तरिक पर्यटकको घुइँचो बढेपछि सम्भावित जोखिम न्यूनीकरणका लागि दैनिक ३०० जनालाई मात्र प्रवेश दिइने भएको छ ।

नगरपालिकाको बैठकले पर्यटकीयस्थल मानहुँकोटमा अब दैनिक ३०० पर्यटकलाई मात्र प्रवेश अनुमति दिने गरी दर्ता प्रणाली शुरू गर्ने निर्णय गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । बैठकले सो क्षेत्रमा पुस मसान्तसम्म जग्गा किनबेचमा रोक लगाउने निर्णय समेत गरेको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको र अन्य सम्भावित दुर्घटना निम्तिन सक्ने भन्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संख्या निर्धारण गरेको हो ।

पछिल्लो समय पर्यटकको चहलपहल भएपछि जग्गा व्यवसायीको आँखा मानहुँकोटमा पुगेको र जग्गा किन्नेक्रम बढेकोले अबको २ महिनासम्म किनबेचमा रोक लगाएको छ ।

सो ठाउँमा गुरुयोजना बनाएर मानहुँकोटको विकासका लागि तत्काल शौचालय निर्माण, खानेपानी र सुरक्षाको व्यवस्थापन समेत गरिने भएको छ । बैठकले १ महिनाभित्र मानहुँकोटको गुरुयोजना तयार पार्ने, खानेपानीको लागि डीपीआर गर्ने, सार्वजनिक जग्गा पहिचान गरी संरक्षण गर्ने निर्णय समेत गरेको छ । सार्वजनिक शौचालय निर्माणकै लागि २५ लाख निकासा गरिने बताइएको छ ।

अचेल दैनिक करीब १० हजार मानिस मानहुँकोट उक्लिने गरेका थिए । सबैलाई आश्चर्य पार्दै शनिवार मात्रै एकै दिनमा झण्डै १५ हजार मानिस त्यहाँ पुगेका थिए ।

सूर्योदय र चारैतिर कुहिरोले ढाकेको मनमोहक दृश्यले मानहुँकोट पर्यटकको आकर्षणको केन्द्र बनेको हो । त्यहाँ घुम्नेहरूले सामाजिक सञ्जालमा फोटो शेयर गरेपछि मानहुँकोट लोकप्रिय बनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्