११ साउन २०८३, सोमबार

पूर्वमाओवादी पक्ष उपस्थित नभएपछि बालुवाटारमा बस्न सकेन बैठक, चिया पिएर फर्किए नेताहरु

कात्तिक २४, २०७७
पूर्वमाओवादी पक्ष उपस्थित नभएपछि बालुवाटारमा बस्न सकेन बैठक, चिया पिएर फर्किए नेताहरु
फाइल तस्वीर

पार्टीभित्र पछिल्लो समय देखिएको विवाद समाधानको प्रयासस्वरुप नेकपाका दोस्रो तहका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएपनि पूर्वमाओवादी पक्षका नेताहरु अनुपस्थित भएपछि बैठक नबसी नेताहरू फर्किएका छन् ।

सहमतिको प्रयासस्वरुप यसअघि गठन गरिएको कार्यदलका सबै सदस्यलाई बालुवाटार बोलाइएको थियो । १५ बुँदे सुझाव अध्यक्षद्वयलाई बुझाएपछि कार्यदल निस्कृय बनेको थियो ।

सोमवार मध्यान्ह बालुवाटारमा कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाइएको थियो । कार्यदलका संयोजक एवं नेकपा महासचिव विष्णु पौडेल र माधव नेपाल पक्षका दुई सदस्य भीम रावल र सुरेन्द्र पाण्डे उपस्थित भएपनि माओेवादी पक्षका नेताहरु अनुपस्थित भएपछि नेताहरू छलफल नै नगरी फर्किएका हुन् ।

'एक घण्टासम्म कुर्दा पनि पूर्वमाओवादी पक्षबाट कोही नआएपछि हामी चिया पिएर फर्क्यौं,' छलफलका लागि बालुवाटार पुगेका एक नेताले लोकान्तरलाई बताए ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले गएको साउन ३० गते महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलमा ओली पक्षबाट महासचिव पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल थिए ।

यस्तै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र पम्फा भुसाल थिए । पूर्व माओवादी पक्षका नेताहरु उपस्थित नभएका कारण बैठक बस्न नसकेको नेता पाण्डेले लोकान्तरलाई जानकारी दिए ।

शर्मा अस्वस्थ भएर आराम गरिरहेका छन् भने भुसालले कार्यव्यस्तताका कारण जान नपाएको लोकान्तरलाई बताइन् ।

विवाद समाधानका लागि कार्यकारी अध्यक्ष प्रचण्ड लगायत सचिवालयका ५ जना सदस्यले ४८ घण्टा भित्र सचिवालय बैठक बोलाउन दिएको अल्टिमेटम आज सकिएको छ । प्रधानमन्त्री ओलीले हिजो माधव नेपाल समूहसँग परामर्शसमेत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्