
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको छ । पूर्व अर्थमन्त्री युवराज खतिवडाले पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय लिएका थिए भने सो निर्णयको बौद्धिक क्षेत्रका साथै सरोकारवालाले चर्को आलोचना गर्दै आएका थिए ।
तर अर्थमन्त्रीमा बिष्णु प्रसाद पौडेल आएसँगै उनले पुस्तकमा लगाइँदै आएको कर हटाउन प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेपछि अब पुस्तकमा कर नलाग्ने भएको एक मन्त्रीले जानकारी दिए ।
यसबाहेक पौडेलले मन्त्रालयमा आएपछि ३ साताको अवधिमा अन्य विभिन्न महत्वपूर्ण निर्णय गरिसकेका छन् ।
उनले कोरोना बीमाको भुक्तानी एक साताभित्रै गर्ने, मंसिर १५ गते सबै स्थानीय तहमा १२ शय्यासम्मको अस्पताल शिलान्यास गर्ने, असार मसान्तभित्र गरिब परिचयपत्र वितरण गरिसक्ने जस्ता महत्त्वपूर्ण निर्णय गरिसकेका हुन् ।
अर्थमन्त्रीको रुपमा पौडेलको सिंहदरबारमा प्रवेश भएपछि निजी क्षेत्रका उत्साहित भएको छ भने संकटको समयमा निकास दिन सक्ने क्षमता भएका नेता भएका कारण पौडेलले कोरोनाका कारण शिथिल भएको अर्थतन्त्रलाई गति दिने विश्वास लिइएको छ ।