
गत चैत ११ मा सरकारले लकडाउन गरेपछि जिल्लाका चार पालिकाले बाँझो जमिनमा खेती गरे अनुदान दिने निर्णय गरेका थिए ।
रामपुर नगरपालिका, रैनादेवी छहरा, पूर्वखोला र माथागढी गाउँपालिकाले यस्तो निर्णय गरेका हुन् । सोहीअनुसार बाँझो जग्गाको उपयोग गर्ने किसानलाई नगद अनुदान दिइएको छ । बाँझो जग्गामा अन्नबाली र फलफूल लगाउने किसानलाई यहाँको रैनादेवी छहरा गाउँपालिकाले नगद अनुदान दिएको छ । दुई वर्षदेखि बाँझिएको जग्गामा अन्नबाली र फलफूल लगाएका १ सय १४ किसानलाई अनुदान वितरण गरिएको हो ।
बाँझो जमिनमा अन्नबाली लगाएका ८० र फलफूल खेती गर्नेर् ३४ जनालाई अनुदान वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए । अन्नबालीतर्फ प्रतिरोपनी ३ हजारका दरले १२ लाख ६६ हजार रुपैयाँ वितरण गरिएको छ । फलफूल खेतीमा प्रतिरोपनी २ हजारका दरले २ लाख ११ हजार रुपैयाँ वितरण गरिएको छ ।
खेतीयोग्य तर बाँझो ६ सय ३३ रोपनीमध्ये ४ सय २२ रोपनीमा अन्नबाली लगाइएको छ । २ सय ११ रोपनीमा फलफूल खेती गरिएको छ । यसका किसानलाई अहिले ५० प्रतिशत मात्रै अनुदान वितरण गरिएको उपाध्यक्ष चेतना थापाले बताइन् । कोरोनाबाट प्रभावित बनेका गाउँपालिकाभित्र रहेको बाँझो जमिनमा अन्नबाली तथा फलफूल खेती गर्नेलाई अनुदान वितरण गरिएको उनको भनाइ छ ।
संक्रमण फैलिन सक्ने र खाद्य संकटसमेत निम्तिने हुँदा बाँझो जग्गामा तरकारी तथा फलफूल खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले नगद अनुदानको व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले जानकारी दिए ।
आर्थिक संकट टार्न कृषि नै उपयुक्त भएकाले तरकारी, फलफूल तथा खाद्यान्नमा अनुदान दिइएको हो । कार्यपालिकाको बैठकबाट कोरोना भाइरस संक्रमण थप फैलिन सक्ने र खाद्य संकटसमेत निम्तिन सक्ने भन्दै बाँझो जमिनमा खेती गर्ने किसानलाई राहतको निर्णय भएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाको भनाइ छ ।
‘हामीले आत्मनिर्भर हुनेतर्फ योजना बनाउन जरुरी छ,’ उनले भने, ‘यस्तै अवस्था आउने हो भने विदेशबाट खाद्यान्न आयात हुन समस्या आउन सक्छ । त्यसतर्फ हामीले सोचेर काम गर्दै छौं ।’ रामपुर नगरपालिकाले बाँझो जमिनमा मकै रोपे प्रतिरोपनी ३ हजार दिएको छ । मौसमी तरकारी खेती गरे प्रतिरोपनी ५ हजार रुपैयाँ किसानले अनुदान पाएको उनले बताए । किसानले १ हजार १ सय रोपनीका लागि अनुदान लिन निवेदन दिएका थिए ।
उत्पादन हुने खेतीयोग्य समथर जग्गा र उच्च डाँडा भेग रामपुर नगरपालिकामा छ । नगरका १० वटै वडामा कृषि प्राविधिक जेटीएको व्यवस्था छ । रामपुरमा कागती, बेसार, अदुवा, खुर्सानी, गोलभेंडा, प्याज, एभोकाडो, आलु, काँक्रा, बन्दा, केरा, घिरौंला, करेला, सिमी, लिची, सुन्तला, कफीलगायत बालीलाई वडाले प्राथमिकता दिएको उनले जानकारी दिए ।
माथागढी गाउँपालिकाले पनि खेतीयोग्य बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने घोषणा गरेको थियो । आर्थिक वर्ष ०७४/७५ अघिदेखि बाँझो रहेको खेतीयोग्य जमिनमा पुनः खेती गर्ने किसानलाई अनुदान दिएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । कान्तिपुर दैनिकमा माधव अर्यालले खबर लेखेका छन् ।