
बिहारमा विधानसभा निर्वाचनको मतगणना जारी छ र आरम्भिक रुझानहरू आउन थालेका छन् ।
आरम्भमा विपक्षी महागठबन्धन अगाडि देखिएको थियो । तर १० बजेतिर आइपुग्दा सत्तारूढ एनडीए गठबन्धन अगाडि आएको छ ।
सबैजसो सञ्चारमाध्यमले एनडीएलाई १२० सीट नजिक पुग्ने देखाइरहेका छन् । बहुमतका लागि १२२ सीट आवश्यक पर्छ ।
लालु यादवका कान्छा छोरा तेजस्वी विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका लागि प्रस्तावित उम्मेदवार हुन् । राघोपुरमा उनले अग्रता लिएका छन् । लालुका ठूला छोरा तेजप्रताप चाहिँ हसनपुर सीटमा पछि परेका छन् ।
नेता तथा फिल्म अभिनेता शत्रुघ्न सिन्हाका छोरा लव बाँकीपुरमा अग्रता लिइरहेका छन् ।
बिहारका वरिष्ठ नेता शरद यादवकी छोरी सुभाषिनी बिहारीगन्ज सीटमा दोस्रो स्थानमा छिन् ।
चुनाव प्रचारमा चारजना ठूला नेताहरू सहभागी रहे । मुख्यमन्त्री नीतीश कुमार आफैंले त चुनाव लडेनन् तर जनता दल युनाइटेडका ठूला नेता उनी नै रहे । उनले १०३ क्षेत्रमा ११३ वटा र्याली गरे ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारमा १२ वटा चुनावी र्याली गरे । अमित शाह कोरोनाका कारण अस्वस्थ भएपछि बिहारमा चुनावी सभामा आउन सकेनन् ।
तेजस्वी यादव महागठबन्धनका मुख्यमन्त्री उम्मेदवार हुन् । उनले २१ दिनमा २५१ चुनावी सभालाई सम्बोधन गरे । दिनमा औसत १२ र्याली र रोड शो उनले गरे ।
कांग्रेसका तर्फबाट राहुल गान्धीले चुनाव प्रचार गरे । उनकी आमा सोनिया गान्धीको स्वास्थ्य बिग्रेकाले प्रचारमा आउन सकिनन् र बहिनी प्रियंका पनि देखिइनन् । राहुलले आठवटा र्याली गरे ।