
दोलखा जिल्लाको चरिकोटस्थित सिङ्गाटेकी ४० वर्षीया पम्फा थापा काठमाडौंको असन क्षेत्रमा भारी बोक्ने काम खोजिरहेकी भेटिन्छिन् । तर उनलाई पर्याप्त काम मिल्दैन ।
असनमा २०० जनाभन्दा धेरै भारी बोक्ने भरियाबीचमा छुट्टै चिनिने थापाको दर्दनाक कथा पनि छुट्टै छ ।
लगातार २ छोरी मात्रै जन्मिएपछि ३ वर्षअघि थापालाई उनका पतिले छाडिदिए । भर्खर कान्छी छोरी जन्मिएर पालनपोषणको जिम्मेवारी आएका बेला पतिले छाडेपछि उनको काँधमा भार थपियो ।
घर खर्च चलाउन उनी विभिन्न व्यक्तिको घरमा गएर सरसफाईको काम गर्न थालिन् । त्यहाँबाट आएको कमाइबाट उनले जेठी छोरी पढाउने र कान्छी छोरी र आफ्नो खर्च जुटाउँदै आएकी थिइन् । त्यत्ति नै बेला कोरोना भाइरस संक्रमणको महामारी फैलिएपछि उनलाई अर्काे संकट आयो ।
कोरोना भाइरसको महामारीका कारण उनले घरघरमा गएर सरसफाईको काम गर्न पाइनन् । कमाइको बाटो बन्द भयो, दैनिक ज्यालादारीको रोजगारी खोसियो । यसैबीच उनकी कान्छी छोरी बिरामी भइन् । रोजगारी र पैसा नभएका बेला अर्काे संकट थपियो ।
लकडाउनका बेला कान्छी छोरी बिरामी भएपछि उनको बिचल्ली भयो । उनकी ३ वर्षीया कान्छी छोरी करिना थापाको कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ । करिनाको मुटुमा प्वाल परेको थापाले बताइन् । ‘उपचार खर्च धेरै लाग्ने भएपछि पैसा जुटाउन सकिन्छ कि भनेर काम खोज्दै गर्दा भारी बाक्ने ठाउँमा आएँ,’ थापाले भनिन्, ‘छोरी बिरामी भएपछि पैसा चाहिने भयो । सहयोग गर्ने कोही नभएकाले भारी बोक्न आएकी छु ।’
छोरीलाई महिनामा १७ हजार रुपैयाँको औषधि खुनाउनुपर्ने र सहयोग कतैबाट नपाइएको उनले बताइन् । उनी भारी बोकेर दिनको ४००–५०० रुपैयाँ कमाउँछिन् तर त्यो पैसाले आफू र छोरीहरूलाई खान मात्रै पुग्छ । ‘औषधि खुवाउन र उपचार गर्नको लागि कमाउने कहिले ?’ उनको मनमा ठूलो प्रश्न छ ।

‘फेरि एक दिन त कमाम्ला नि भन्ने सोच्छु । छोरी उपचार गर्छु भन्ने लाग्छ,’ उनले हरेस नखाएको बताइन् । विद्यालय बन्द भएकाले उनकी ९ वर्षीया जेठी छोरी घरमा बहिनीको हेरचार गर्छिन् भने आमा भारी बोकेर खर्च जुटाउँछिन् । तर भारी बोकेर खर्च जुटाउन पनि उनलाई सहज छैन ।
‘धेरै बोक्न सक्दिनँ भनेर होला काम कसैले दिँदैनन् । एकै पटकको पैसामा दुईपटक बोक्छु भन्या,’ उनले भनिन् । महिला भएकाले उनलाई काम दिने कसैले रुचाउँदैनन् ।
‘म महिला भएकाले धेरै बोक्न सक्दिनँ भनेर काम दिँदैनन्,’ पम्फाले लोकान्तरसँगको कुराकानीमा भनिन्, ‘के गर्नु जसरी पनि पैसा कमाउनुपर्ने छ ।’ अन्य पुरुष भरियाले लिएको काममा आधा–आधा बाँडेर कमाइ गर्ने गरेको समेत उनले बताइन् ।
आफू धेरै समस्यामा रहेकाले कसैले सहयोग गर्न चाहेमा ९८४८४७०६२८ मोबाइल नम्बरमा फोन गरेर सहयोग गर्न सक्ने थापाले बताइन् । ‘मलाई सहयोग पाइए छोरीको उपचार गर्न सक्थें । घर खर्च चलाउन त म भारी बोकेर नै कमाइहाल्छु,’ उनले भनिन् ।