
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब सिर्जना गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका बहुमत सदस्यको बैठक आज पनि बस्ने तयारी भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को आह्वानमा अपराह्न ४ बजे धुम्बाराहीमा बहुमत सदस्यको बैठक बस्ने तयारी भएको नेकपा स्रोतले जानकारी दियो ।
यसअघि पनि प्रचण्डको आह्वानमा धुम्बाराहीमा सचिवालयका ५ सदस्यको बैठक बसेको थियो ।
उक्त बैठकले पार्टी सचिवालय बैठक बोलाउनका लागि सामूहिक रूपमा भेटेर ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
त्यसपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाश पाँचैजनाले ओलीलाई भेटेर सचिवालय बैठक बोलाउनका लागि ४८ घण्टे अल्टिमेटम दिएका थिए ।
उक्त अल्टिमेटमको समयसीमा हिजै सकिएको छ । अझैसम्म पनि ओली बैठक बोलाउन तयार नभएपछि नेकपा सचिवालयका बहुमत सदस्यहरू पुन: छलफलमा जुट्न लागेका हुन् ।
यसबीचमा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओलीको सन्देश लिएर मंगलवार बिहान खुमलटार पुगेका थिए ।
त्यसक्रममा पोखरेलले आज बैठक नबस्न प्रचण्डलाई आग्रह गरेको खुमलटार स्रोतले जानकारी दियो ।
पोखरेलले पार्टीमा देखिएका समस्या समाधानका लागि पहिला दुई अध्यक्ष बसेर सहमतिमा पुग्नुपर्ने बताएका थिए ।
जवाफमा प्रचण्डले अब आफूले एक्लै ओलीसँग नभेट्ने बताएको खुमलटार स्रोतले जानकारी दियो ।