
लगानी बोर्डले ३ ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ ।
बोर्ड अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलवार बसेको बोर्डको ४५ औं बैठकले ३ ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।
सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत् परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख रुपैयाँ लगानी स्वीकृत भएको छ ।
बैठकमा लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे छलफल भएको थियो । लगानीकर्तालाई एकल विन्दु सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न केन्द्रलाई स्वचालित बनाउने तथा ‘नलेज म्यानेजमेन्ट पोर्टल’को स्थापना तथा उपयोग गर्ने विषयमा समेत छलफल भएको मिश्रले जानकारी दिए ।
बोर्डका अध्यक्ष ओलीले बैठकमा कोभिड–१९ ले याँ शिक्षा दिएको बताउँदै परियोजना कार्यान्वयनमा भइरहेको विलम्बलाई हटाउन नयाँ प्रविधिको आवश्यकता भएको बताएका थिए । उनले कोरोनाका कारण बोर्डको बैठक नियमित बस्न असहज भए पनि आगामी दिनमा नियमित हुने जानकारी दिए । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डमार्फत प्रवद्र्धन र सहजीकरण भएका परियोजनाहरू कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिबारे जानकारी गराएका थिए । भट्ट सीईओ नियुक्ती भएपछि बोर्डको पहिलो बैठक मंगलवार बसेको हो ।