२३ असार २०८३, मंगलबार

छठमा मिठ्ठा बेच्न धमाधम उखु पेल्दै किसान

कात्तिक २६, २०७७
छठमा मिठ्ठा बेच्न धमाधम उखु पेल्दै किसान
फाइल फोटो

महोत्तरीका उखु किसान दीपावली (तिहार) पर्वको मुखमा धमाधम उखु पेल्न लागेका छन् ।

दीपावली र लगत्तै आउने छठ पर्वमा मिठ्ठा (सक्खर) को माग निकै हुने बेला पारेर किसान उखु पेल्न जुटेका हुन् ।

अहिले घरमा पेलिएको उखुको सक्खर आम उपभोक्ताको रोजाइमा पर्ने भएपछि किसानको यस काममा व्यस्तता बढेको हो । जिल्लाको बर्दिबास, भंगाहा, गौशाला र औरहीसहित उखु खेती निकै गरिने नगरपालिका क्षेत्रका बस्ती/बस्तीमा अहिले घरघरैजसो तुर्पिन (उखु पेल्ने उपकरण) चलिरहेका भेटिन्छन् ।

‘अहिले चाडपर्वले मिठ्ठाको माग निकै छ, त्यसैले तत्काल नगद हात पर्ने हुँदा उखु पेल्न थालिएको हो,’ भंगाहा–४ प्रेमनगरका किसान सुफल महतोले भने, ‘अन्य बित्दो खेतीको काम नभएको र चाडपर्व मनाउन तत्काल नगद पाइने हुँदा उखु पेल्न लागेका हौं ।’ चिनी मिल (उद्योग) को चलान कहिले खुल्ने टुंगो नहुने र भुक्तानी पनि समयमा नपाउने भएपछि उखु पेल्न थालिएको किसानको भनाइ छ । 

अहिले बर्दिवास नगरपालिकाका किसाननगर, मनहरिपुर, कृष्णपुर, फूलबारीटोल, बिजलपुरा, खजुरिया, पशुपतिनगर, हाथीलेट र प्रेमनगरसहितका बस्तीमा आम किसानलाई उखु पेल्ने चटारो देखिँदैछ । दीपावली मुखमै आइसकेको र पर्वअघि मिठ्ठा बजार पुर्याउन सके अपेक्षित मूल्य पाइने किसान बताउँछन् ।

भंगाहाको प्रेमनगर, रामनगर, टोकाटोल, राजपुर, भूचक्रपुर र सीतापुर धतीया टोलका घरघरै पनि अहिले उखु पेल्ने तुर्पिन चलिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्