२१ असार २०८३, आइतबार
लयमा फर्किँदै पोखरा

कोरोनाको भय चिर्दै जुर्मुरायो प्याराग्लाइडिङ, पालो पाउन पनि ३ दिनअघि बूकिङ गर्नुपर्ने अवस्था

कात्तिक २६, २०७७
कोरोनाको भय चिर्दै जुर्मुरायो प्याराग्लाइडिङ, पालो पाउन पनि ३ दिनअघि बूकिङ गर्नुपर्ने अवस्था

कोरोनाभाइरस (कोभिड १९)को प्रभावले ६ महिनासम्म ठप्प बनेको प्याराग्लाइडिङ क्षेत्र यतिखेर चलायमान हुन थालेको छ । 

आकाश नै ढाकिने गरी उड्ने प्याराग्लाइडिङको ताँतीले पर्यटकीय क्षेत्र पोखराको आन्तरिक पर्यटन प्रबर्द्धनमा सघाउ पुगेको छ । 

नेपाल हवाई खेलकुद संस्था (ना) ले विगतको तुलनामा शुल्कमा भारी छूट गरेपछि आकाशमा चराझैं घुम्ने रहर पालेकाहरू थप आकर्षित बनेका हुन् । 

कोभिड–१९ प्रभावले थलिएका कारण पोखराका होटल तथा रेष्टुरेन्टहरू तथा विभिन्न क्षेत्र पूर्णरूपमा सञ्चालन नआइसक्दा पोखरेली आकाशमा भने ग्लाइडर फन्कोले केही भए पनि पर्यटन क्षेत्रमा उत्साह थपेको छ । 

पोखरा–१५ का तिलक थापा यहाँका रैथाने हुन् । उनी उमेरले ५० वर्षका भए । साहसिक खेल प्याराग्लाइडिङ पोखराको आकाशमा विगत दुई दशकदेखि उडेको उनले नदेखेका होइनन् । पेशाले रेष्टुरेन्ट तथा स्कूल सञ्चालक समेत रहेका थापालाई उड्ने रहर भएपनि कहिल्यै मेसो मिलेको थिएन । यसबेला दशैंको बिदामा उनीमात्र होइन, परिवारका सदस्यसहित एकैपटक ७ जनाले प्याराग्लाइडिङको मज्जा लिए ।

आफ्नो जन्मदिनको अवसर पारेर तिलकसहित धर्मपत्नी बिमला थापा, दुई छोराहरू बेञ्जोन र बेनिस थापा, भाञ्जा विश्वदीप कुँवर, छोराका साथीहरू लोकेश दुलाल र सनम कुँवरले उडान भरेका हुन् । ‘कम्पनीहरूले छुट पनि दिएको र फुर्सदको सदुपयोग गरेर आकाशमा उड्यौं । फेवातालमाथि ग्लाइडर पुग्दा स्वर्गमा पुगेको अनुभव हुँदोरहेछ,’ तिलकले लोकान्तरसँगको कुराकानीमा अनुभव सुनाए । 

उनका अनुसार ७ जनाको कुल २१ हजार रूपैयाँ खर्च भयो । लकडाउन अघि उडेको भए करीब ५० हजार रूपैयाँ लाग्थ्यो । 

कम्पनीले नेपालीलाई आधा घण्टा उडाएको विगतमा ७ हजार रूपैयाँसम्म लिने गरेकोमा अहिले ५० प्रतिशत बढी छुट दिएका हुन् । 

यतिखेर प्याराग्लाइडिङ उड्नेमा सबैजसो आन्तरिक पर्यटक छन् । विदेशी पर्यटक देखिँदैनन् । छिमेकी जिल्ला एवं काठमाडौं, चितवन, बुटवल, धरान लगायत शहरबाट मानिसहरू आकाशमा उड्नका लागि पोखरा आउने गरेका छन् । 

दशैंको बेलामा गण्डकी प्रदेश सांसद रामजी बराल जीवन र इन्द्रधारा विष्टले पनि यसको अनुभव लिएका थिए । 

नेपाल हवाई खेलकुद संस्था (ना) का अनुसार दैनिक ६ सय वटासम्म उडान हुने गरेको छ । उड्नका लागि दुईतीन दिन पहिले नै बूकिङ गरिसक्नुपर्छ, नत्र पालो नपाउने अवस्था रहेको कम्पनीहरू बताउँछन् । फेवातालमाथि कावा खाँदै उत्तरमा हिमालको सुन्दरतामा रमाउँदै उड्नुको आनन्द बेग्लै हुने भएकाले मौसमको साथ, भारी छूट, फुर्सदको समय सदुपयोग गर्दै मानिसहरू यतिधेरै प्याराग्लाइडिङ गर्न आकर्षित भएका हुन् ।

मानिसको भीडले व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको विभिन्न कम्पनी सञ्चालकको भनाइ छ । विगतमा महंगो भएकाले प्याराग्लाइडिङ गर्न नसक्ने समेत अहिले अनुभवका लागि आउने गरेको प्याराग्लाइडिङ सञ्चालक भूपाल गुरुङले सुनाए । 

ना अध्यक्ष कृष्ण भण्डारीले कोभिड–१९ जोखिमका कारण पहिलेको तुलनामा अहिले उडानलाई व्यवस्थित गर्दै लगिएको दाबी गर्दछन् । भण्डारीका अनुसार मानिसको एकैपटक भिडले कोरोना संक्रमणको जोखिम बढाएकाले संस्थाले तीन वटा सिफ्टमा कम्पनीहरूको वर्णानुक्रमअनुसार उडान अनुमति दिने गरेको छ । यसरी एउटा कम्पनीले एक दिनमा १२ वटासम्म उडान भर्न पाउँछ ।

जसमा ६–६ वटासम्म उडान गर्न सकिन्छ । ना अन्तर्गत यहाँ ६१ वटा कम्पनी सञ्चालित छन्, तीमध्ये अहिले ५० वटा सञ्चालनमा आएका छन् । केही अझै खुलेका छैनन् । दिनमा एक जना पाइलटले २ जनालाई मात्र उडाउन पाउने गरी व्यवस्था मिलाइएको अध्यक्ष भण्डारीले बताए । यस्तै, कोरोनाविरुद्ध स्वास्थ्य सचेतना अपनाउँदै यात्रुको तापक्रम नाप्ने, अनिवार्य मास्क प्रयोग, सेनिटाइजर प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । 

लामो समयसम्म प्याराग्लाइडिङ नउड्दा यहाँका प्याराग्लाइडिङ कम्पनीले ५० करोड रूपैयाँसम्म घाटा व्यहोरेको अनुमान छ । 

ना अध्यक्ष भण्डारीले भने, ‘कोरोना प्रभावसँगै सरकारले उडान रोक्दा करीब ५० करोड घाटा हुन गएको थियो । व्यवसाय चौपट हुने भयो भनी चिन्तित व्यवसायीहरूले उडानमा भारी छूट दिएपछि मानिसको भीड बढ्दा आशाको सञ्चार भएको हो । 

नाका महासचिव एवं नमस्ते प्याराग्लाइडिङका सञ्चालक बलराम आचार्यले हाल कम दररेटमै नियमित उडानले ‘अप्रेसन’ खर्च धान्ने अवस्था सिर्जना भएको बताउँछन् । उनी पोखराको पर्यटन क्षेत्र बिस्तारै जुर्मराउन थालेको मान्छन् ।

प्याराग्लाइडिङ उडानपछि आफ्नो अनुभव सुनाउँदै प्रदेश सांसद रामजी बराल जीवनले पोखराको पर्यायवाची रूपमा सो खेल रहेको बताए । उनी आफू आकाशमा उड्दा खुबै रमाएको बताए । 

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका तीन स्थान र नजिकैको तोरीपानीको टेक अफ क्षेत्रबाट उडान भरी पाइलटले फेवाताल किनार खपौंदी, इन अफ द लेक, वाटरफ्रन्ट रिसोर्ट अगाडिको चौरमा अवतरण गर्दछन् । साथै केही ग्लाइडर चंखपुरमा समेत अवतरण हुने गर्दछन् । पोखरामा हाल ३३८ पाइलट रहेकोमा २५० जनाले टेन्डम फ्लाइट गर्ने गरेका छन् ।

सरकारले गत असोज १ देखि हवाई उडान सञ्चालन अनुमति दिएसँगै पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनमा आएको हो । आवश्यक तयारी र व्यवस्थापनका कारण औपचारिक रूपमा व्यावसायिक उडान असोज १५ देखि मात्र भयो । 

पोखरामा यो साहसिक खेलको इतिहास केलाउँदा यूरोपबाट शुरू प्याराग्लाइडिङले नेपालमा २ दशकको यात्रा पूरा गरिसकेको छ । नेपालमा प्याराग्लाइडिङ भित्र्यउनुको पहिलो श्रेय वंजन परिवारलाई जान्छ । यूरोपका धेरै देशहरूबाट विकसित प्याराग्लाइडिङ नेपालमै पहिलोपटक नुवाकोटका विरु वंजनको प्रयासमा पोखरामा सन् १९९२ देखि भित्रिएको हो ।

यहाँ प्याराग्लाइडिङ भित्रिएसँगै उनकै छोरा राजेश नेपालकै पहिलो प्याराग्लाइडिङ पाइलटको रूपमा चिनिए । पर्यटन व्यवसायीका अनुसार पोखरामा सन् १९९० देखि व्यावसायिक उडान थालिएको इतिहास छ । राज्यले नपत्याएको यो खेलले २ वर्षअघि १८ औं एसियाली गेम्समा रजत पदक जितेसँगै नेपालको साख जोगाएको थियो । 

साहसिक खेल प्याराग्लाइडिङको विस्तारै आकर्षणले १५९२ मिटर उचाइको सराङकोट प्याराग्लाइडिङले महत्त्वपूर्ण स्थानको रूपमा चिनारी बोक्यो । क्रमशः प्याराग्लाइडिङ कम्पनी खुल्दै गए । हाल ५ दर्जन पुगिसकेका छन् । डोरी र ग्लाइडर साथमा जोखिम मोलेर आकाशमै विना इञ्जिन स्वतन्त्र उड्ने साहसिक यो खेलमा विदेशीसँगै नेपालीहरूको आकर्षण बढ्दै गएको हो । 

salt training

कमेन्ट गर्नुहोस्